काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने पक्का भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको सो पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन् ‘ आज बिहान प्रधानमन्त्रीसँग भएको छलफलमा हामीले एक मन्त्री र राज्यमन्त्री पाउने सहमति भएको छ । त्यस्तै दुई वटा संसदीय समितिको सभापति पनि पाउने भन्ने सहमति भएको छ । त्यसै अनुसार हामी सरकारमा सहभागी हुन्छौं ।’
अनि उपसभामुखको पनि कुरा आएको छ नि ? भन्ने प्रश्नमा उनले भनिन् ‘ त्यो पछिको कुरा हो अहिले उपसभामुख हुनुहुन्छ त्यो पछि पाउने भन्ने कुरा हो । ’
बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरूको नामावली टुङ्गो लगाउने उनले बताइन् ।
यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।