काठमाडौँ । जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ ।
मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको हो ।
कोशी प्रदेश प्रहरीका अनुसार प्रहरीबाट सुरक्षार्थ खटिएका १० जना र कैदीबन्दीमध्ये ९ जनालाई छानबिनको दायरामा ल्याइएको छ । बुधबार बिहान १ बजे कैदी विनोद तोलांगी र आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका थिए ।
त्यसक्रममा नियन्त्रणमा लिएपछि कारागारभित्र झडप र कुटपिट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकरणको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभाले पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति बनाएको छ ।
कारागार व्यवस्थापन विभागले पनि निर्देशक कमल पाण्डेको नेतृत्वमा समिति बनाएर जाँच गरिरहेको छ ।