काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ ।
गत २७ साउनमा सङ्घको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासनविपरीत काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरू केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नवीन चन्दलाई कारबाही गरिएको सङ्घले जनाएको छ ।
अधिवेशनमा सङ्घका निर्वाचन आयोग प्रमुख बलराम बेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त-१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रवीन्द्र देवकोटामाथि ज्यान मार्ने अभिप्रायका साथ साङ्घातिक आक्रमणमा उनीहरू संलग्न रहेको पुष्टि भएको जनाइएको छ ।
घटनाका विषयमा उनीहरूलाई स्पष्टीकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यदलले निकालेको निष्कर्षका आधारमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको सङ्घको भनाइ छ ।
छानबिनका लागि एमालेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
