काठमाडौँ । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ ।
पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटना हुदाँ प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विमान दुर्घटनामा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि परेको बताइएको छ ।
दुर्घटनापछि आगो लागेको विमानमा सवार कोही पनि जिवित नरहेको बताइएको छ तर वागनर प्रमुख सवार विमानमा कसैले आक्रमण गरेको हो वा प्राविधिक गडबडी हो भन्ने यकिन भइसकेको छैन ।
प्रिगोजिनको नेतृत्वमा वागनर सैनिकले रुसको तर्फबाट युक्रेनमा लामो लडाई लडेका थिए । विशेषगरी युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्त्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो ।
उनले दुई महिना अघि आफ्नो सैन्य समूह लिएर मस्को कब्जा गर्ने धम्की दिएका थिए ।