काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको सपना देख्ने प्रतिगामी शक्तिलाई परास्त गर्न चार दल मिलेर समाजवादी मोर्चा बनेको बताएका छन्।
वीरगञ्जमा शुक्रबार आयोजित मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सदन सडक र सरकारको तीनवटै मोर्चाबाट एक चोटि फेरि हमला गर्न चाहेको बताएका हुन्।
‘फेरि प्रतिगमनको सपना देख्ने प्रतिक्रान्तिकारीलाई परास्त गर्न एकचोटि फेरि सदन सडक र सरकारको तीनटै मोर्चाबाट हामी हमला गर्न चाहन्छौँ, उनले भने, ‘हामी सबै खालका निराशा अन्योल आतङ्कबाट मुक्त होऔँ र एकताबद्ध भएर क्रान्तिलाई नयाँ उचाइमा अगाडि बढाउन पहल गरौँ।’
अहिलेको संविधान आफैँमा पूर्ण नरहेकोले उत्पीडित जनताको समस्या समाधान र माग सम्बोधन गर्न समय अनुकूल संविधान संशोधन गर्दै जानुपर्ने ‘प्रचण्ड’को भनाइ थियो। प्रतिपक्षी एमालेको लामो समयको संसद अवरोधपछि धेरै प्रयास गरेर अहिले ससद खुलिसकेको उनले जानकारी दिए।