काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताए ।
नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उनको भनाइ थियो । उनले आन्तरिक ऋणको वृद्धि तीव्र रूपमा बढ्दै गएकाले आगामी दिनहरूमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताए ।
चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको उनले बताए । उनले सरकारलाई आन्तरिक ऋण चुनौती र महँगो दुवै भइरहेको बताए । उनले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौती र जटिलता रहेको बताए ।
सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेको उनले बताए । पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरू खान नपाएर मर्ने अवस्था आउन सक्ने बताए ।
उनले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरू महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताए ।
उनले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भनेपनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गरे । बल, वृद्धि र पैसा भएकाहरू युवाहरू विदेश जाने पठाएर केही नभएकाहरूलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने उनको भनाइ थियो ।
‘पछिल्लो समय देशको वैदेशिक ऋण वृद्धि भयो भन्ने छ । तर नेपालको विदेशी ऋणभन्दा पनि पछिल्ला दिनहरूमा आन्तरिक ऋण बढी रहेको छ । अरु देशहरूको भन्दा परक समस्या छ । ५ देखि ७ वर्षको अन्तरालमा नेपालको १० खर्ब माथि आन्तरिक ऋण बढ्यो । नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो छ । जुन आन्तरिक ऋणको वृद्धि तीव्र छ । अब आउने दिनहरूमा आन्तरिक ऋणले वैदेशिक ऋण भन्दा बढी हुन्छ,’ उनले भने ।
उनले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताए । उनले मुलुक आर्थिक रूपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरूको सहयोग पनि अपरिहार्य रहेको बताए ।
अवसर नदेखेर विदेश जाने युवाहरूलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको पाण्डेको भनाइ छ ।