हिजोआज राजनीतिक दलका चुनावी घोषणापत्र देखि लिएर नेपाल सरकारका नीति, योजना र कार्यक्रमहरूमा समेत समृद्धि भन्ने शब्द व्यापक रूपमा प्रयोग भएको पाइन्छ । नेपाली जनताले सदियौँदेखि चाहना एवं अपेक्षा गरेको विषय पनि समृद्धि नै हो । नेपाली शब्दकोश अनुसार समृद्धि भनेको संवृद्धि, राम्रो वृद्धि, बढिबढाउ, सामर्थ्य, शक्ति हो । यस अर्थमा समृद्धि एउटा बहु आयामिक विषय हो । मानिसको बुद्धि, विवेक, ज्ञान, सृजना, समर्पण, अनुशासन, कडा परिश्रम, काम र उत्पादनको उपज नै समृद्धि हो । कार्यमा सफलता, उन्नति, प्रगति, राम्रो र असल अवस्था भयो भने त्यहाँ समृद्धि भएको मानिन्छ । राज्यव्यवस्था सञ्चालक, विकासका व्यवस्थापक, सार्वजनिक सेवा प्रदायक, सार्वजनिक, निजी, गैरसरकारी क्षेत्र एवं स्वयम् प्रत्येक नागरिक जिम्मेवार, इमानदार, कर्मशील, अनुशासित, कर्तव्य र दायित्व प्रति सचेत भएमा मात्र अपेक्षित समृद्धि हासिल गर्न सकिन्छ ।
समृद्धि प्राप्त गर्ने माध्यम: प्रत्येक नागरिकले प्राप्त गरेको ज्ञानलाई सिपमा बदल्ने, सिपलाई रोजगारीमा बदल्ने, रोजगारीलाई उत्पादनमा बदल्ने, उत्पादनबाट प्राप्त हुने लाभांश नागरिकको हित, कल्याण र नवप्रवर्तनमा लगाउने एवं उत्पादन प्रक्रियालाई निरन्तर परिष्कृत गर्नु समृद्धि प्राप्त गर्ने उपयुक्त माध्यम हो । समृद्धिलाई निरपेक्ष भन्दा पनि सापेक्ष रूपमा बुझ्नुपर्ने हुन्छ ।
अपेक्षित समृद्धि: दिगो र उच्च आर्थिक विकास, उच्च र समतामूलक राष्ट्रिय आय, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व प्राप्ति, सर्वसुलभ तथा आधुनिक पूर्वाधार एवं अन्तर आबद्धताको विकास, दिगो र वातावरणमैत्री भौतिक पूर्वाधारको विकास, मानव पुँजी निर्माण एवं सम्भावनाको पूर्ण उपयोग, गुणस्तरीय, समन्यायिक एवं जीवनोपयोगी शिक्षा, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, स्वस्थ्य र सन्तुलित पर्यावरण, सुशासन, समान अवसर र सामाजिक न्याय, सृजनशील र स्वस्थ्य समाजको निर्माण, राष्ट्रिय एकता एवं अखण्डता, नागरिकको सुखी, परिष्कृत र मर्यादित जीवन, विकसित देश सरहको प्रतिव्यक्ति आय र जीवनशैली, प्रविधि र नवप्रवर्तनले नागरिकको समस्या समाधान गर्ने क्षमता भएको मुलुक तथा समुन्नत, गतिशील र न्यायपूर्ण समाजको निर्माण र विकास नै हामी सबैले अपेक्षा गरेको समृद्धि हो ।
समृद्धि प्राप्त गर्ने तरिका: समृद्धिको प्रस्थान बिन्दु भनेकै उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नु हो । सहरी क्षेत्रमा आयातमा निर्भर, उपभोगमुखी र ग्रामीण क्षेत्रमा निर्वाहमुखी अर्थतन्त्रलाई उत्पादनमुखी, स्वाधीन, सबल, आत्मनिर्भर र समाजवाद-उन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा रूपान्तरण गर्न जरुरी छ । यसका लागि पुँजी बजारको विकास एवं बैङ्क तथा वित्तीय संस्थाको लगानी क्षमता सुदृढ गर्ने, आयात गरिएका उपभोग्य वस्तु तथा निर्माण सामग्रीको बाहुल्यता र बढ्दो व्यापार घाटालाई तुलनात्मक लाभ भएका उपभोग्य वस्तु तथा निर्माण सामग्रीको उत्पादन, बिक्रिवितरण र खर्च गर्ने प्रवृत्तिलाई घटाउँदै बचत परिचालन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने, विप्रेषणलाई उपभोग्य वस्तु र सेवा खरिदमा खर्च गर्ने प्रवृत्तिलाई घटाउँदै बचत परिचालन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने, स्थानीय उत्पादनसँग कमजोर सम्बन्ध रहेको पर्यटनलाई स्थानीय उत्पादनसँग सघन सहकार्य गर्दै अर्थतन्त्रसँग अग्र र पृष्ठ सम्बन्ध स्थापना गर्दै पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्ने, लघु तथा अनौपचारिक क्षेत्रका साना उद्योगहरूको बाहुल्यताबाट मझौला तथा ठुला, कृषि तथा वनजन्य प्रशोधन र खनीजजन्य उद्योगहरूको स्थापना र सञ्चालन गर्न प्रोत्साहन गर्ने, मनसुनमा आधारित निर्वाहमुखी र परम्परागत खेती प्रणालीलाई यान्त्रिकीकरण र व्यवसायीकरण गरी उच्च उत्पादकत्व र उत्पादन हासिल गर्ने, जलवायु परिवर्तन अनुकूलन उत्पादन प्रणाली विकास गर्ने गरी नीति, योजना र कार्यक्रमहरू परिलक्षित गर्न आवश्यक छ ।
सहकारी क्षेत्रको लगानी लाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुका साथै प्रभावकारी नियमन प्रणाली अवलम्बन गर्ने, आर्थिक उपार्जनसँग कमजोर सम्बन्ध रहेको संरक्षणमुखी वन व्यवस्थापन प्रणालीलाई संरक्षण र आर्थिक उपार्जन सँगसँगै हुने वैज्ञानिक वन व्यवस्थापन प्रणालीमा रूपान्तरण गर्ने, निजी क्षेत्रको सहकार्यमा ठुला जलाशययुक्त जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादन गर्ने, निर्धारित समय र लागतमा गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण सम्पन्न गर्ने गरी ठेक्का व्यवस्थापनलाई प्रभावकारी बनाउने, बजारको मागसँग प्रत्यक्ष नजोडिएको र साधारण विषयको वर्चस्व रहेको वर्तमान शिक्षा प्रणालीलाई बजारको माग, उत्पादन र उद्यमसँग जोडिएको प्राविधिक तथा व्यावसायिक शिक्षामा रूपान्तरण गर्ने, श्रम शक्तिको उत्पादन र बजारको मागबिच सन्तुलन कायम गर्ने, वर्तमान सिचाइ प्रणालीले टार तथा भिरालो पहाडी भूभागलाई नसमेटेको हुँदा पम्पिङ, लिफ्टिङग र पाइप सिचाइ प्रणाली विकास गरी सिचाइ सुविधा विस्तार गर्ने, खानेपानीको दिगो स्रोत नभएका बस्तीहरूमा वैकल्पिक माध्यमबाट आपूर्ति गर्ने व्यवस्था मिलाउने, रोगहरूको संरचनागत परिवर्तन अनुसार जनताको स्वास्थ्य समस्या समाधान गर्न विद्यमान कमजोर स्वास्थ्य सेवा प्रणालीलाई बदलिँदो रोगको प्रकृति अनुसार आधारभूत र विशिष्टीकृत सेवा प्रदान गर्ने प्रणालीमा रूपान्तरण गर्ने, विनियोजन कुशलता तथा पुँजीगत खर्च अभिवृद्धि गर्ने, अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण गर्ने, स्वच्छ खानेपानी तथा देशव्यापी सरसफाइ स्वच्छता कार्यक्रम सञ्चालन गरी पोहोर मैलाको दिगो र उचित व्यवस्थापन गर्ने, कानुनी रूपमा लैङ्गिक समानता प्राप्त भएको तर व्यवहारिक अभ्यास नभएको अवस्थालाई लैङ्गिक समानताका कानुनी प्रावधान र व्यवहारिक अभ्यासमा सामञ्जस्यता प्रदान गरी सारभूत समानता कायम गर्ने, दुर्गम क्षेत्रहरूमा इन्टरनेट रेडियो र टेलिभिजनको कमजोर पहुँचलाई सुदृढ गरी सबै पालिका र गाउँहरूमा इन्टरनेट सेवामा पहुँच विस्तार गर्ने, विद्युतीय शासन प्रणाली लागू गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त एवं प्रभावकारी बनाउने, सारमा अन्य मुलुकले उत्पादन गरेका सामान आयात गर्दा उठेको भन्सार राजश्वले सरकार चलाउने र आयातित सामान बेची आएको कमिसनले व्यवसाय र घर गृहस्थी चलाउने वर्तमान उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नु समृद्धि प्राप्त गर्ने पहिलो प्रस्थान बिन्दु हो ।
मुख्य संवाहक: हाम्रो सन्दर्भमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, भौतिक पूर्वाधार, मानव संसाधन विकास र सुशासन समृद्धिका मुख्य संवाहक हुन् ।
कृषि: उच्च उत्पादन दिने कृषि प्रणालीको प्रवर्द्धन, यान्त्रिकीकरण, व्यावसायिकीकरण र बजारीकरण मार्फत उच्च उत्पादन र उत्पादकत्व प्राप्त गरी खाद्य र पोषण सुरक्षा सुरक्षित गर्न आवश्यक छ ।रासायनिक मल, बीउ, प्रविधि, कृषि औजार तथा कृषि प्रसार सेवा समयमै उपलब्ध गराई तरकारी तथा फलफूल उत्पादनमा वृद्धि गर्ने र अर्ग्यानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्दै कृषि पूर्वाधार, बजार सूचना प्रणाली, उद्यमशीलता र गुणस्तर कायम गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न जरुरी देखिन्छ । कृषि बिमाको दायरा विस्तार गर्दै दूध, माछा तथा मासु उत्पादनमा आत्मनिर्भर बनाउने। कृषि योग्य जमिनलाई बाँझो राख्न नदिन तथा दुम्सी, बाँदर, मुसा लगायत चौपाया व्यवस्थापनका लागि ठोस उपाय अवलम्बन गर्न जरुरी देखिन्छ ।जडीबुटी खेतीको अनुसन्धान, व्यावसायिक उत्पादन, विस्तार, प्रशोधन र बजारीकरणलाई प्रोत्साहन गर्दै नदी उकास जग्गाको सदुपयोग गर्ने गरी कृषि-वन कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।
उद्योग: उद्यमशीलताको विकास, मझौला र ठुला उद्योगहरूको स्थापना र औपचारिक क्षेत्रको विस्तार मार्फत उपभोग्य वस्तु, निर्माण सामग्री, कृषि प्रशोधन र खनीजजन्य उद्योगहरूलाई चाहिने कच्चा पदार्थको आपूर्ति गरी अर्थतन्त्रमा उद्योग क्षेत्रको अग्र र पृष्ठ सम्बन्ध विकास गरी रोजगारीको विस्तार, आयात प्रतिस्थापन, राजश्व वृद्धि र समग्रमा राष्ट्रिय अर्थतन्त्रको आकार र आयतन बढाउन आवश्यक छ ।यसका लागि प्रविधिको प्रयोग तथा एकद्वार प्रणाली र औद्योगिक पूर्वाधारको विकास गर्न आवश्यक छ ।स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियान सञ्चालन गरी रोजगारी र उद्यमशीलता-उन्मुख स्वरोजगारीका लागि सीप, पुँजी र व्यावसायिक तालिम उपलब्ध गराउन जरुरी देखिन्छ ।
पर्यटन: शिक्षा, स्वास्थ्य, खेलकुद, साहसिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्दै स्थानीय उत्पादनसँग अग्र र पृष्ठ सम्बन्ध भएको गुणस्तरीय पर्यटन सेवाको विस्तार गरी रोजगारी सृजना, गरिबी निवारण र राष्ट्रिय अर्थतन्त्रको आधारशिला निर्माण गर्न जरुरी छ । गन्तव्य स्थल तथा उपजमा विविधीकरण गरी अर्थतन्त्रमा यस क्षेत्रको योगदान वृद्धि गर्न आवश्यक छ ।
उर्जाः जलविद्युत र नवीकरणीय ऊर्जाको (सौर्य, वायु र जैविक) उच्च उत्पादन उपभोग र निकासी गरी औद्योगिकीकरणको विस्तार र पेट्रोलियम पदार्थको आयातमा कमी ल्याउँदै आत्मनिर्भर र हरित अर्थतन्त्र निर्माण गरी ऊर्जाको विकास गर्न जरुरी छ।त्यसै गरी आन्तरिक तथा अन्तर्देशीय विद्युत् प्रसारण सुदृढ तथा विस्तार गरी आपूर्ति प्रणालीलाई प्रभावकारी र भरपर्दो बनाउन आवश्यक देखिन्छ ।
जलवायु परिवर्तन: जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गर्नुका साथै जलवायु सङ्कटले उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाई हिमाल बचाउने अभियान शुरु गर्न ढिला गर्नु हुँदैन । विपद् पूर्व तयारी, जोखिम आकलन, पूर्व चेतावनी, प्रतिकार्य, न्यूनीकरण र पुनर्लाभका कार्य र क्रियाकलापलाई थप प्रभवकारी बनाउन आवश्यक छ ।
भौतिक पूर्वाधार: उत्पादनमुखी अन्तर निर्भर अर्थतन्त्र निर्माणमा सघाउने गुणस्तरीय भौतिक पूर्वाधारको विस्तार र सञ्जालीकरण गरी अर्थतन्त्रमा उत्पादन क्षेत्रको लागत घटाउने र उत्पादित वस्तुको प्रतिस्पर्धी क्षमता बढाई बजार अर्थतन्त्रको विस्तार गरी गुणस्तरीय भौतिक पूर्वाधारको विकास गर्न आवश्यक देखिन्छ । सडक यातायात, रेल, जल मार्ग र हवाई क्षेत्रलाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्ने, प्रादेशिक सन्तुलन कायम हुने गरी उच्च क्षमताका द्रुत मार्ग, भूमिगत मार्ग भाया-डक्ट लगायतका आधुनिक संरचना सहित सडक सञ्जाल विकास गर्नुपर्ने देखिन्छ । ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ र निर्माण सामग्रीको आपूर्तिलाई व्यवस्थित गर्न आवश्यक छ ।एकीकृत पूर्वाधार विकास मार्फत व्यवस्थित, आधुनिक एवं सुरक्षित आवास योजना कार्यान्वयन गरी सहरीकरणलाई व्यवस्थित गर्न जरुरी देखिन्छ ।
मानव संसाधन विकास (शिक्षा र स्वास्थ्य): गुणस्तरीय, समन्यायिक एवं जीवनोपयोगी शिक्षा प्रणाली अवलम्बन गर्दै उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्न चाहिने प्राविधिक सीप, ज्ञान र क्षमता भएको स्वस्थ्य मानव संसाधन विकास गर्न जरुरी छ ।सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणालाई कार्यान्वयन गरी गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न आवश्यक छ ।
सुशासन: राज्यका सबै संयन्त्रहरूमा विद्युतीय सुशासनको अभ्यासले पारदर्शिता एवं कार्य क्षमता अभिवृद्धि गर्दै भ्रष्टाचार नियन्त्रण गरी सार्वजनिक सेवालाई सहज सुलभ र प्रभावकारी बनाउन आवश्यक छ । नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, कर तथा महसुल भुक्तानी, जग्गाधनी प्रमाणपत्र वितरण प्रणालीलाई विद्युतीय माध्यमको प्रयोग गरी थप सहज, सरल, सुलभ बनाउन आवश्यक छ । भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न जरुरी देखिन्छ । डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन र दूरसञ्चार पूर्वाधारको सह प्रयोगलाई प्रोत्साहित गरी सूचना प्रविधिको उपयोगलाई अभिवृद्धि गर्न आवश्यक छ । आतङ्कवाद तथा सङ्गठित अपराध, मिटरव्याजी, साइबर अपराध, वित्तीय अपराध, लागू औषधको अवैध ओसारपसार र कारोबार लगायत सबै प्रकारका अपराधजन्य गतिविधिलाई नियन्त्रण गर्न जरुरी छ ।सामाजिक सशक्तीकरण, समावेशीकरण र सामाजिक सुरक्षा प्रणालीलाई थप मजबुत बनाउन आवश्यक छ ।
समृद्धिका लागि सहयोगी क्षेत्र:
प्राकृतिक सौन्दर्य: मुलुकको तराई, पहाडदेखि हिमालसम्मको मनोरम भू-धरातल, ताल तलैया, हिमाल, पदमार्ग, गल्छी, सिमसार, संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज, धार्मिक स्थल, पुरातत्त्व आदि जस्ता प्राकृतिक सौन्दर्यताले पर्यटक आकर्षण बढ्ने र पर्यटन क्षेत्रबाट प्राप्त हुने आय वृद्धि भई समृद्धिमा योगदान पुर्याउँछ ।
जैविक विविधता वातावरणलाई असर नगर्ने वा न्यून असर गर्ने गरी विकास निर्माण गरी वातावरण र विकास बिचको तादात्म्यता कायम गर्ने, दिगो र हरित अर्थतन्त्रको प्रवर्द्धन गरी वित्तीय स्थायित्व र आर्थिक अभिवृद्धि हासिल गर्ने, विपद्को रोकथाम तथा जोखिम न्यूनीकरण र व्यवस्थापन गर्ने, वन जङ्गल, स्वच्छ पानी र उर्वर जमिनको संरक्षण तथा दिगो व्यवस्थापन गर्न आवश्यक छ । मुलुकमा रहेका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रभित्र विशाल जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्दै पर्यावरणीय सन्तुलन र पर्यटक आकर्षण गरी समृद्धि तर्फको यात्रामा फड्को मार्न सकिन्छ ।
सामाजिक पुँजी: परम्परागत ज्ञान, स्थानीय सामाजिक तथा सामुदायिक संस्था, सामाजिक साझेदारी, पारस्परिकता र उत्थानशीलता, बाह्य अनुभव तथा सीप समृद्धि प्राप्तिका लागि महत्त्वपूर्ण सहयोगी क्षेत्र मानिन्छन्।
जनसाङ्ख्यिक लाभ: मुलुकमा आर्थिक रूपले सक्रिय जनसङ्ख्या कुल जनसङ्ख्याको ६५.५ प्रतिशत रहेको छ । यो उमेर समूहलाई विशेष योजनाका साथ विदेश जान वा पलायन हुनबाट रोक्दै उत्पादनमूलक क्षेत्रमा योजनाबद्ध रूपमा परिचालन गरी आर्थिक र सामाजिक विकासमा चाडै फड्को मार्ने सुवर्ण अवसर रहेको छ ।
यातायात सञ्जाल निर्माण: राष्ट्रिय पूर्वाधार गुरुयोजना निर्माण गरी पूर्वाधार क्षेत्रमा लगानी बढाउने, यातायात सम्बन्धी एकीकृत राष्ट्रिय नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, राष्ट्रिय प्रमुख राजमार्ग, प्रादेशिक सडक, स्थानीय सडक, पर्यटन स्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक, कृषि सडक, उद्योग पहुँच मार्ग, अन्य पहुँच मार्ग, सडक पुल तथा सडक सुरक्षा कार्यक्रम लागू गरी बाह्रै महिना निर्बाध रूपमा सुरक्षित र भरपर्दो यातायात सञ्जाल निर्माण गर्न जरुरी छ ।
विशेष आर्थिक क्षेत्र निर्माण: विशेष आर्थिक क्षेत्र निर्माण मार्फत व्यापारिक तथा व्यावसायिक गतिविधि बढाउन जरुरी छ । विद्यमान विशेष आर्थिक क्षेत्रको सुधार एवं थप विशेष आर्थिक क्षेत्रको निर्माणले औद्योगिकीकरणमा सहयोग पुर्याइ समृद्धिमा योगदान गर्दछ ।
समृद्धिका लागि क्षेत्रीय सन्तुलन र समन्यायिक विकास: सन्तुलित एवं समन्यायिक विकास गरी समृद्धि प्राप्त गर्न तहगत प्रशासनिक एवं आर्थिक केन्द्रहरू विकास गरी समृद्धि तर्फको यात्रालाई मजबुत बनाउन जरुरी छ।
ज्ञानको पलायनलाई ज्ञानको पुनः प्राप्तिमा बदल्ने: ब्रेन ड्रेन वा ज्ञानको पलायन भनेको कुनै व्यक्ति वा समूह ज्ञानसहित एक ठाउँबाट अर्को ठाउँमा बसाइ सराइ गर्नु हो । ब्रेन रिगेन वा ज्ञानको पुनः प्राप्ति भनेको विदेशमा गएका हाम्रा नागरिकले विदेशमा सिकेको ज्ञान, सीप र पुँजी सहित पुनः आगमन गर्नु हो ।विदेशमा बसेका हाम्रा नागरिकलाई उपयुक्त अवसर दिई उनीहरूले विदेशमा सिकेको ज्ञान, सीप र कमाएको पुँजी स्वदेशमा लगानी गर्ने वातावरण निर्माण गर्नु मुलुकलाई समृद्धि तर्फ डोर्याउने एक उपयुक्त माध्यम हो ।साथै राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी परराष्ट्र नीति सञ्चालन गरी आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन जरुरी छ।
समृद्धिको नेतृत्व लिन पुस्तालाई तयार गर्ने: युवा वर्गको ज्ञान, सीप, जाँगर र कार्यदक्षतामा राष्ट्रको समृद्धि निर्भर गर्दछ । तसर्थ युवालाई समृद्धिको नेतृत्व हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन ।
अन्त्यमा, सार्वजनिक, निजी, गैर सरकारी एवं सबै क्षेत्र, तह र तप्काले बढी जिम्मेवार, ईमान्दार, कर्मशील, उच्च नैतिक चरित्र, सदाचार पद्धति एवं उच्च मनोबलका साथ दृढ इच्छाशक्ति र प्रतिविद्धताका साथ आ-आफ्नो भूमिका प्रदर्शन गर्दै जन विश्वासका साथ अघि बढेमा समृद्धि हाम्रै पालामा प्राप्त गर्न सकिनेमा विश्वस्त हुन सकिन्छ ।
नोट: प्रस्तुत लेखमा व्यक्त भएका विषय लेखकका निजी विचार हुन ।