काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती प्रशासनले पुर्याएको योगदानको प्रशंसा गरेका छन् । २०औँ निजामती सेवा दिवस, २०८० को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको जस्तो सुकै प्रणालीमा जनतालाई सेवा प्रवाह, विकास र सङ्क्रमणकालीन शासन व्यवस्थामा पनि निजामती प्रशासनले पुर्याएको योगदान सधैँ प्रशंसनीय रहेको बताएका हुन् ।
स्थायी सरकारका रूपमा रहेको निजामती सेवा राष्ट्र हितको प्रमुख आधार बनेर मात्र सुशासन, सामाजिक न्याय सहितको समुन्नतिले गति लिन सक्ने उनको भनाई छ ।
साथै सङ्घीय शासन व्यवस्था अनुसार निजामती प्रशासनमा देखिएका कानुनी संरचनागत तथा कार्यगत समस्या समयमा समाधान गर्दै समयसापेक्ष व्यवहारिक नेतृत्वबाट चुस्त दुरुस्त नतिजामुखी र नागरिकमैत्री बनाउन निरन्तर आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
