काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
ठूला पुँजीपतिहरूलाई खोजेर अर्बौँ लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको गुनासो थियो । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको बताए ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनीको रूपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
ओलीले भनेका छन्, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उसकहाँ बैंकको ऋण पुग्दै पुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ । ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नुपर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ । तर त्यहाँ मात्रै होइन । गरिबकहाँ, जहाँ सिड मनी छैन । जहाँ व्यवसाय सुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माइक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजुअल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन ।’