काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको बताएका छन् ।
लर्डबुद्ध एजुकेशन फाउण्डेशनको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुक प्रविधिको युगमा प्रवेश गरेकाले अब नेपालीको भविष्य सूचना र प्रविधिको विकाससँग जोडिएको बताएका हुन् ।
उनले सूचना र प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउण्डेशनको प्रशंसासमेत गरे । “पछिल्लो दुई दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती हासिल भएका छन्, यसमा लर्डबुद्ध फाउण्डेशनको महत्त्वपूर्ण योगदान रहेको छ”, उनले भने।
उनले समावेशी र सीपमूलक शिक्षामार्फत स्वदेशमै युवालाई आकर्षित गर्न आवश्यक रहेको उल्लेख गरे । उपराष्ट्रपति यादवले पछिल्लो समय युवा विदेशी क्रम तिव्र भएकोमा चिन्ता व्यक्त गरे। स्वदेशमा भविष्य नदेखेर पलायन हुनुपर्ने बाध्यतालाई अन्त्य गरिनुपर्ने उनको भनाइ थियो ।
शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले शिक्षामार्फत महिला सशक्तीकरणमा लर्डबुद्ध फाउण्डेशनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । शिक्षा प्रणालीलाई मुलुकमा सबैको समान पहुँचमा पुर्याउनुपर्ने उनको भनाइ थियो ।
फाउन्डेशनका अध्यक्ष पङ्कज जलानले नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवालाई विदेशिनबाट रोक्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । सूचना प्रविधिको क्षेत्र अध्यापन गराउँदै आएको फाउन्डेशनबाट २५ वर्षमा १२ हजारभन्दा बढी विद्यार्थीलाई दीक्षित भइसकेको उनको भनाइ थियो ।
Write to prasashan news group desk