काठमाडौँ । विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार आगामी माघसम्म आफ्नो प्रतिवेदन बुझाउने गरी एक उच्चस्तरीय समिति गठन गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका थियो । मल्लिक पूर्वअर्थ सचिव समेत हुन् ।
बजेटमा कर प्रणालीको सुधार अन्तर्गत विद्यमान कर प्रणालीबारे अध्ययन गरी सुधारको सुझाव दिन उच्चस्तरीय समिति गठन गर्ने उल्लेख थियो । अर्थ मन्त्री डा. महतका अनुसार यस्तो समितिले दिएको सुझावलाई आधार मानेर आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट निर्माण गरिने छ ।
सरकारले चालु आर्थिक वर्ष २०८०-८१ का लागि अघिल्लो आव २०७९-८० मा सङ्कलन भएको राजस्वको तुलनामा करिब ४० प्रतिशत बढी कर सङ्कलन गर्ने गरी लक्ष्य राखेको छ । यो लक्ष्य भेटाउन सरकारले करमा नयाँ नयाँ क्षेत्र खोज्ने प्रयास गरेको छ । जस अन्तर्गत केही नयाँ क्षेत्रहरूमा भ्याट लगाएपछि सरकार आलोचित समेत बनेको थियो ।
सरकारले भने करलाई समसामयिक बनाउन र दर भन्दा दायरा फराकिलो बनाउन नयाँ क्षेत्रमा कर खोजिरहेको बताएको छ । यी सहित कर सम्बन्धमा उठेका गुनासो, विद्यमान प्रावधान तथा यससँग सम्बन्धित विषयमा अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।