काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले ’मन मनमा जसपा, घर घरमा जसपा’ नारासहित सङ्गठन विस्तार अभियान सुरु गरेको छ ।
मधेश प्रदेशको जनकपुरबाट जसपाले सङ्गठन विस्तार अभियान थालेको हो । आज एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले सङ्गठन विस्तार अभियानको समुद्घाटन गरेका छन् ।
गौर हत्याकाण्डमा फसाउने षड्यन्त्र भइरहेको भन्दै आन्दोलनको तयारी स्वरूप जसपाले सङ्गठन विस्तार अभियान चलाएको छ । अध्यक्ष यादवले तेस्रो मधेश आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।
प्राप्त उपलब्धिलाई संस्थागत गर्न नदिन षड्यन्त्र भइरहेको भन्दै पुनः आन्दोलनको आवश्यकता रहेको उनले बताए ।
संविधानमा समावेशी र समानुपातिकको कुरा उल्लेख भएपनि व्यवहारमा नदेखिएको अध्यक्ष यादवले बताए । संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका निकाय समावेशी अझै समावेशी नभएको भन्दै उनले अब आन्दोलनको विकल्प नरहेको बताए ।