काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक सङ्घ खारेजीको माग उठेको छ ।
‘नेपालमा अहिले शिक्षकहरूले आन्दोलन गरिराख्नुभएको छ । उहाँहरूलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ सङ्घ संस्थाको रूपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेता गोपाल दहितले भने ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका बेला काँग्रेसको बैठकमा नेताहरुले शिक्षकहरूलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आबद्ध हुन दिन नहुने बताएका हुन् ।
नेपाली काँग्रेस निकट शिक्षकहरूको पनि सङ्घ छ । काँग्रेस निकट शिक्षकहरू नेपाल शिक्षक संघमा आबद्ध छन् । कतिपयले शिक्षकहरूले सङ्घ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला काँग्रेस नेता दहितले पार्टीसम्बद्ध शिक्षक सङ्गठन खारेजीको माग राखेका हुन् ।
‘यदि नेपाली काँग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरू खारेजी गर्नुपर्छ’ उनले अगाडि भने, ‘उनीहरूलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यवसाय गर्न दिने हो । प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन ।’
विश्वभरका विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको नेता दहित भन्छन्, ‘नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको वाधकको रूपमा युनियनहरू पाइरहेका छौँ ।’
नेकपा एमालेमा युनियन पार्टी सङ्गठनकै रूपमा रहेको पनि काँग्रेस नेता दहितले स्मरण गरे ।
साथै, काँग्रेस नेताहरुले शिक्षकहरूको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग राखेका छन् ।
विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि काँग्रेस नेताहरुले आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन् ।