काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले ईन्द्रजात्रा अवलोकन गर्न वसन्तपुर पैदल गएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन्।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठकसम्म पैदल हिँडेका थिए।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गएको यो पहिलो पटक हो। यसअघिका राष्ट्रपति र राजा गद्द बैठक अघिसम्म नै गाडीमा जाने गरेका थिए।
काठमाडौं महानगरले विश्व सम्पदा क्षेत्रमा नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) घोषणा गरेको छ। सोही अनुसार राष्ट्रपति पौडेल पैदल गएका हुन्।
शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन। उहाँहरूले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ। सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो। हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौँ।’