थींक ग्लोबल्ली एण्ड एक्ट लोकल्ली
विश्वव्यापीकरण राष्ट्रिय अर्थतन्त्रको अन्तर्राष्ट्रियकरण गर्ने एक अनवरत प्रक्रिया हो । विश्व नै सानो गाउँको रूपमा परिणत गराउने विभिन्न अवयवहरूको समष्टिगत संरचनाको रूपमा पनि यसलाई बुझिन्छ। यो अवधारणा एक अवसर हो, यद्यपि आन्तरिक क्षमता सबलीकरण नगर्दा प्रतिस्पर्धी ठुला कम्पनीहरूको दबदबाले त्यसैको सिकार पनि बन्न पुग्दछ। फलत: राज्यको नियमन क्षमता कमजोर भई राज्य असफलता तिर उन्मुख हुन्छ।दक्षिण एसियाको विकासोन्मुख मुलुक नेपाल पनि विश्वव्यापीकरणको पेचिलो प्रभावबाट अछुतो रहन सकेको छैन।
सन् १९८० को दशकमा उदय भएको विश्वव्यापीकरण सँगै बहुस्तरिय शासनको प्रादुर्भाव भयो।आर्थिक उदारीकरण, बजारीकरण र श्रम उदारीकरण जस्ता पक्षहरू उजागर हुँदै गए।विश्व व्यापार सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, दोहोरो कर मुक्ति सम्झौता, बहुराष्ट्रिय कम्पनीहरू, ट्रेड युनियनको अधिकार जस्ता विषयहरू पनि सँगै उठान हुँदै गए।
विश्वव्यापीकरणका प्रभावका क्षेत्रहरू
विश्वव्यापीकरणले देहायका बहु क्षेत्रमा सकारात्मक तथा नकारात्मक प्रभावहरू पारेको छ:
१. सांस्कृतिक क्षेत्र- भाषा, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, खानपान, रहनसहन, चाडपर्व, उत्सव, महोत्सव जस्ता पक्षमा अन्तर्राष्ट्रिय प्रभाव देखा परेको छ।सांस्कृतिक बहुलबाट (विविधता बिच एकता कायम भएको अवस्था ) र सांस्कृतिक बहुलता (अनेकता र विविधता एकै साथ कायम रहेको अवस्था) बढ्दै गएका छन्।
२. आर्थिक क्षेत्र- वैश्विक बजेट प्रणाली, खरिद प्रणाली ,कर प्रणाली, वित्तीय क्षेत्र सुधार, लेखाईकन, लेखा प्रणाली,प्रतिवेदन प्रणालीमा अन्तर्राष्ट्रियकरण हुँदै गएका छन्। वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, बौद्धिक सम्पत्तिको संरक्षण, विप्रेषण, शोधानान्तर बचत, पूँजीबजार व्यवस्थापन, प्राकृतिक श्रोत तथा खनिज उत्खनन स्थानीय उत्पादनमा विश्व अर्थतन्त्रले यत्रतत्र प्रभाव छाडेको छ।
३. सामाजिक क्षेत्र- शिक्षा, स्वास्थ्य, रोजगारी, खाने पानी, पोषण, खोपमा उच्च आधुनिकीकरण भएको छ। , महिला, बालबालिका पूर्वाधार निर्माण, खेलकुद जीवनस्तर, सम्बन्ध, पेसा, व्यवहार, मनोवृत्तिमा अन्तर्राष्ट्रिय हातेमालो र अन्तरघुलन लाई प्राथमिकता दिएको छ। सडक मानवको स्थिति, मानव विकास, तालिम, सीप, विकास, सशक्तीकरणका कार्यक्रमहरू, गरिबी निवारण विकासका केन्दविन्दुको रूपमा स्वीकार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आदानप्रदान हुन थालेका छन्।
४. राजनीतिक क्षेत्र- भेटवार्ता, कूटनीति, अदृश्य गुट र सहयोग, सभा सम्मेलन, अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरू अन्तर्राष्ट्रिय क्षेत्रमा उम्मेदवारी तथा प्रतिनिधित्वको अभ्यासमा नयाँपन आएको छ।उदाहरणको रूपमा भारतीय मूलका ऋषि सुनक आज बेलायत जस्तो शक्तिशाली राष्ट्रको प्रधानमन्त्री बनी विश्व स्तरको शासनमा उदाएका छन्।
५. प्राविधिक क्षेत्र-प्रविधिको विकास र उन्नयन, प्रविधि हस्तान्तरण, सफ्टवेयरको विकास तथा प्राविधिक जनशक्तिको विकास अन्तर्राष्ट्रिय साझा एजेन्डा बनेका छन्। डिजिटल अर्थतन्त्रको अवधारणा सँगै
साइवर सुरक्षा र डाटा रिकभरी सेन्टरको आवश्यकता महसुस भएको छ।
६. शासकीय क्षेत्र- राजनीतिक सत्ता समीकरण, निर्वाचन पर्यवेक्षक, सैनिक सुधार योजना लगायतका विश्व शासनका अभ्यासहरू विभिन्न मुलुकमा समानता रहेका छन्। कार्यसम्पादन क्षमता, सेवा प्रवाह, नीति निर्माण, विकास निर्माण, सङक्रमणकालिन न्याय तथा शान्ति पुनर्स्थापना, मध्यस्थकर्ता, सत्सेवा, विद्युतीय शासन, उत्तरदायी सरकार, सुशासनका आयाममा सुधारका मागहरू गुन्जिरहेका छन्।
७. वातावरणीय क्षेत्र- प्रदूषण र फोहोर मैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। पारिस्थितिक प्रणाली, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलन, दिगो विकास का लक्ष्यहरू कार्यान्वयन, नवीकरणीय एवं स्वस्थ ऊर्जाको उपभोगलाई प्रवर्द्धन गर्न विश्व छाता सङ्गठन मार्फत परिचालनका कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। महामारी तथा रोग प्रकोपको अन्तर्राष्ट्रियकरण जस्तै कोभिड १९ को विश्वव्यापी प्रभावले विश्व समुदाय नै आक्रान्त बनेको घटना ताजै छ।
८. अन्य क्षेत्र-मानव अधिकार, विधिको शासन, अन्तर्राष्ट्रिय सहायता, आन्तरिक विस्थापन र शरणार्थी व्यवस्थापन विश्व मञ्चमा मन्थनिय विषय बनेका छन्।
सबल पक्ष
भूमण्डलीकरण सीमा विहीनता र विश्वमा एक लेबलको विकासको सर्त बमोजिम देहायका सबल पक्षहरू प्रस्तुत गर्न सकिन्छ:
· आधुनिकीकरण र सांस्कृतिक सङ्कीर्णता हटेको
· सांस्कृतिक हार्दिकता र अन्तरघुलन
· वस्तु र सेवाको सहज उपलब्धता
· प्रतिस्पर्धाले मूल्य र गुणस्तरमा स्तरीकरण
· पर्यटन प्रवर्द्धन तारे होटलहरुको विस्तार
· मानवीय कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौता
· स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारको पहुँच
· छनोटको अवसर र अन्तर्राष्ट्रिय ब्रान्डको सहज उपलब्धता
· कला साहित्य सङ्गीत लगायतको प्रतिभाको अन्तर्राष्ट्रियकरण
· अन्तर्राष्ट्रिय अध्ययन स्वास्थ्योपचार सुविधा लाभ जस्तै अमेरिका जापान बेलायत अष्ट्रेलिया लगायतका मुलुकमा अध्ययनको अवसर
· विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय चासो सरोकार र सहयोग
· शरणार्थीको व्यवस्थापन जस्तै यूएनएचसीआर
· सांस्कृतिक प्रदर्शन मेला र अन्तर्राष्ट्रिय स्तरमा विनारोकतोक कलाकारहरूको उपस्थिति
· दिगो विकासका आयाम तथा सूचकहरूमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता
· विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको प्रतिबद्धता
· आधुनिक प्रविधि आर्टीफिसियल इन्टेलीजेन्स् को बढ्दो प्रयोग
दुर्बल पक्ष
सकारात्मक प्रभावका साथै देहायका नकारात्मक प्रभावहरू पनि उत्तिकै उब्जिएका छन्
· मौलिक घरेलु उद्योगहरू धरायसि बन्ने
· सामाजिक न्याय कमजोर हुने
· प्राकृतिक स्रोत साधनको दोहन
· प्रतिस्पर्धान्त्मक क्षमता कमजोर बन्ने
· कमजोर राष्ट्र डम्पिङ साइड बन्ने जोखिम
· मानवीय पक्षको क्षयीकरण र सामाजिक सुसम्बन्ध कमजोर
· उपभोगवादी संस्कृति र परनिर्भरताको विकास
· सङ्गठित अपराध बढ्ने
· सामाजिक सांस्कृतिक विचलन
· कमजोर सौदाबाजी क्षमता
· रोगब्यादी प्रकोप वृद्धि हुने
· नक्कली शरणार्थी समस्या
· हुन्डी कारोबार तथा अवैध सुन कारोबार
· वस्तुगत र प्राविधिक सहायतामा ठुलो हिस्सा प्राविधिक दक्षता बापत सोही मुलुकमा फर्कने गरेको
· वस्तुगत सहायता अन्तर्गत मर्मत त्यही देशबाट मात्र प्राप्त हुने एकाधिकार प्रवृत्तिको संरचना निर्माण
चुनौतीहरू
सक्छौ राष्ट्रिय स्रोत साधन उपभोग गरेर विकास र समृद्धि हासिल गर सक्दैनौ त सक्ने मुलुकले आफू अनुकूल उपभोग गरेर विकास र समृद्धि हासिल गर्छ भन्ने चुनौती सिर्जना गरेको छ। जुन यस प्रकार छन्:
· मुलुकको अधिकांश माग पूरा गर्ने गरी स्वदेशमा नै ठुलो परिमाणमा उत्पादन हुने वस्तुहरू पैठारीमा महशुलदर वृद्धि गरी स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति अवल्म्वन गर्नु
· अनलाइनमा आधारित व्यवसाय र राइडिङ सेवामा कर लगाउने लगायतका डिजिटल ट्याक्स प्रणाली लागू गर्नु
· सांस्कृतिक सम्पदाहरूको जगेर्ना र साम्प्रदायिक ऐक्यबद्धता कायम राख्नु
· सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्नु
· जैविक विविधताको प्रोफाइल तयार र सूचीकरण गर्नु
· बौद्धिक सम्पत्तिको संरक्षण गर्नु
· आन्तरिक उत्पादनमा जोड दिनु जस्तै हाई भ्यालू लो भोल्यूम एसेट्स
· जनसांङियक लाभको उपयोग र दक्ष जनशक्ति उत्पादन गर्नु
· पैठारीमा आधारित राजश्वको संरचना तयार गर्नु
· कराधारका नयाँ क्षेत्र पहिचान तथा ई कमर्समा करारोपण गर्नु
· सूचना प्रविधिको स्तरोन्नति अपेक्षित बनाउनु र थप लगानीको सुनिश्चितता गर्नु
· अनौपचारिक अर्थतन्त्रलाई औपचारिकीकरण गर्नु
· स्थानीय उत्पादनहरूको ब्रान्डिङ तथा बजारीकरणको लागि अन्तर्राष्ट्रिय मेला महोत्सवमा वाणिज्य दूतावासको भूमिका प्रबल बनाउनु
· खुला सिमाना भएका मुलुक सीमा व्यवस्थापन र चोरी पैठारी नियन्त्रण प्रबन्ध गर्नु
· अन्तर्राष्ट्रिय कूटनीतिलाई राष्ट्रिय हित अनुकूल बनाउनु
· भ्याटमा बहुदर कायम गर्ने लगायतका कर प्रणाली सुधार गर्नु
· विमानस्थल भन्सारमा कार्गो र यात्रु जाँचपासलाइ पृथक् बनाउनुका साथै पर्यटक सुरक्षामा ध्यान पुर्याउनु
· स्याटलाइट अफिसको अवधारणा लागू गर्नु
नेपालमा विश्वव्यापीकरणको प्रभाव
नेपाल पृथ्वीको एक सुन्दर टिका हो। नेपाल पनि विश्वव्यापीकरणको लहरसँगै नेपालीपनालाई विस्थापन गर्दै उत्तरआधुनिकताबादको यात्रा तर्फ उन्मुख रहेको छ। जसलाई तलका उदाहरण वाट प्रष्ट पार्न सकिन्छ:
· जैविक जन्म सट्टा सरोगेसीले फस्टाउँदै गरेको
· जैविक उत्पादन दहिमोहि लाई कोक फ्यान्टा तथा इनर्जि ड्रिङसले विस्थापन गरेको
· मकै कोदोको रोटीको सट्टा पिजा बर्गरले बजार तताएको
· रोधिघर डान्सवार/पार्टी प्यालेसको रूपमा विस्थापन हुँदै गएका
· साडी चोली दौरा सुरुवाललाई जिन्स कपडाहरूका पहिरनले उछिनेको
· योगा ध्यान केन्द्रहरू जिम खानाको रूपमा परिणत भएका
· विवाहभन्दा लिभिङ टुगेदरको प्रचलन अभ्यासमा आएका
· तीर्थयात्रा भन्दा हाइकिङ बाईकिङ स्किङ बन्जी जम्पिङले प्रचार पाएको
· मानवता भन्दा फेसबुके प्रचारप्रसार र औपचारिकता आर्जन तर्फ उन्मुख मानव समाज
· स्वउत्पादन भन्दा प्याकेजिङ तथा बोटलका खानेकुराले बजार भरिएको
· सुन्दरताका लागि प्लास्टिक सर्जरी तथा लेजर प्रविधिको उपयोग
· विधुत उत्पादन र सडक निर्माणको नाममा नेपालमा ५०० मिलियन अमेरिकी डलरको एम सी सी परियोजना र अमेरिकी सेना प्रवेश विवादित बन्न पुगेको
· राष्ट्रिय जनावर गाई गोरुको बध गर्ने र मासु खाने सांस्कृतिक स्वच्छन्दताका मागहरू उठ्न थालेका
· समलिङगि विवाह र पहिचानको विषय मानव धर्म र सनातनी प्रकृति माथि प्रश्न उब्जेको
· प्रेम आचार्यको सिंहदरवार अगाडि खुलेआम आत्मदाहले सरकारको कार्यसम्पादन तथा सुशासनमा प्रहार
· मिटरव्याजी धन्दाको घटना, सहकारीको अव्यवस्थित नियमन र सर्वसाधारणको जीवनशैली माथि प्रभाव
· जातीय राज्यको माग जस्तै १ नम्बर प्रदेशमा कोसी राज्यको नामकरणको विरोध
यसका अतिरिक्त देहायका राम्रा प्रभावहरू पनि रहेका छन्:
· दलीय व्यवस्थाको लामो विरासत माथि स्वतन्त्र उम्मेद्वारहरुको विजय जस्तै काठकाण्डौका मेयर बालेन शाह र धरानका मेयर हर्क साङ्गपाङ
· सन्दुक रुइतले प्राप्त गरेको रोमन म्यागासेसे पुरस्कार
· संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरूमा नेपालीहरूको प्रतिनिधित्व
· लुम्बिनीमा विश्व भरिका बौद्धधर्मावलम्विहरुको निरन्तर भ्रमण
· विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान बाट नेपालीहरू सुशोभित हुने गरेका दृश्टान्तहरु
· अमेरिका बेलायत अष्ट्रेलिया क्यानडा लगायतका मुलुकमा नेपालीहरूले सांस्कृतिक उत्सवहरू मनाउने गरेका
त्यसैगरि नेपाल अल्पविकसित मुलुकको रूपमा तत्काल ग्रेस चरणमा अर्थात् सङक्रमणकालिक अवस्थामा रहेको जसमा ३ वटा सूचकहरू आर्थिक जोखिम, मानव सम्पत्ति ,प्रति व्यक्ति आय मध्ये अघिल्ला दुई सूचकहरूमा उतिर्णाङक गरी सन २०२६ सम्ममा मध्यम आय भएको मुलुकको रूपमा स्तरोन्नति हुन प्रयासरत रहेको छ। त्यहाँ पश्चात् झन् बढी अन्तर्राष्ट्रिय दायित्व बढेर जाने, अनुदान घट्ने र आन्तरिक क्षमता सबलीकरण गर्नु पर्ने चुनौती पेचिलो देखिन्छ।
अन्त्यमा
विश्वव्यापीकरणले शासनमा लोकतन्त्र, वातावरणीय क्षेत्रमा दिगो विकास, आर्थिक क्षेत्रमा सम्भाव्यताको खोजी, सामाजिक पक्षमा समता, प्राविधिकमा बौद्धिकता, सांस्कृतिक क्षेत्रमा सहिष्णुता र अधिकारमुखी एकै पटक ल्याएको छ। आर्थिक उन्नतिमा अनेक बाधा उत्पन्न भई विश्व अर्थ व्यवस्थाबाटै अलग हुने खतरा आउन सक्छ। अन्तर्राष्ट्रिय जगतसँग जोडिएका राष्ट्रका आवश्यकता र प्राथमिकतालाई सौम्य शक्तिको सफ्ट पावर उपयोग, कूटनीतिक कौशल, निर्यातयोग्य वस्तु र सेवाहरूको उत्पादन र ब्राण्डिङ, द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा सक्रिय र प्रभावकारी सहभागिता र द्विपक्षीय बहुपक्षीय स्तरमा विद्यमान अवसरहरूको लाभकारी उपयोग गर्नु बुद्धिमान मानिन्छ।