काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागका प्रमुखले आफूले सम्हाल्दै आएको विभागको जिम्मा स्वतन्त्र विद्यार्थी युनियनलाई सुम्पिएको घोषणा गरेका छन् ।
यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गरी अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने चुनौती दिएका थिए ।
त्यसको जवाफमा विभागीय प्रमुखहरूले आफूहरूले सम्हालेको विभाग स्ववियु सभापतिलाई चलाउन दिने सल्लाह भएको बताएका छन् ।
‘‘यस कुराको गाम्भीर्यतालाई महसुस गरी छलफल हुँदा यस्तो उच्च आकाङ्क्षा बोकेका स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएकाले विभागका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको जानकारी गराउँदछौँ’, विभागीय प्रमुखहरूले क्याम्पस प्रमुखलाई लेखेको पत्रमा भनेका छन् ।
उनीहरूले स्ववियुलाई नै विभाग चलाउन दिन प्राध्यापक सङ्घ र कर्मचारी सङ्घको पनि समर्थन रहेको जिकिर गरेका छन् ।
