काठमाडौँ। बाँकेको नेपालगन्जको द्वन्द्व कम गर्ने उपायको खोजी गर्न बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने निर्णय गर्दै मङ्गलवारबाट जारी कर्फ्यु बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको संयोजनमा शान्ति र सद्भाव कायम गर्न भन्दै बसेको सर्वपक्षीय बैठकले मङ्गलवारदेखि जारी कर्फ्युलाई क्रमशः खुकुलो बनाएर पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बुधबार अपराह्न जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सो बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने सबै पक्षले समन्वय गर्ने सहमति जनाउँदै अब उप्रान्त सद्भाव भड्किन नदिने सामूहिक प्रतिबद्धता जनाएका छन् । उनीहरूले सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्याली निकाल्ने निर्णयमा सहमतिसमेत गरेका छन् ।
