काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले इजराइलमा भड्किएको हिंसामा ज्यान गुमाएका १० जना नेपालीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले अध्ययन र रोजगारीका सिलसिलामा इजराइलमा रहेका हजारौँ नेपालीहरू युद्धको चपेटाबाट सङ्कटापन्न अवस्थामा रहेकोमा पनि चिन्ता व्यक्त गरेका हुन् ।
‘यस्तो वियोग, वेदना र सङ्कटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नु पर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ हाल्नु पर्ने आवश्यकता रहेको हामीले महशुस गरेका छौँ ।’ पूर्व राजाको संवाद सचिवालयको विज्ञप्तिमा जारी छ ।
विज्ञप्तिमा आजको दुनियाँमा द्धन्द र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने धारणा पनि व्यक्त गरिएको छ ।
