काठमाडौँ । काठमाडौँको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले भण्डारीलाई बाँचुन्जेल जेल (आजीवन काराबास) को मागदाबीसहित अभियोगपत्र दायर गरेको हो ।
प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको बताएको छ ।
अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । व्यक्तिगत प्रतिशोध (रिसिबी) का कारण हत्या भएको प्रहरीको निष्कर्ष छ । उनी जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो
बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएका थिए । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो ।
आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।