काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा दुई वटा गठबन्धन बनेको बताएका छन् ।
सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चलखेल गरेर कोशी सरकारमा एमाले सहभागी भएको बताएका हुन् ।
कोशीमा सत्तारुढ गठबन्धन र एमाले र काँग्रेसको असन्तुष्ट समूहको अर्को गठबन्धन रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । ‘काँग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा । कोशीमा दुइटा गठबन्धन बनेका छन् : एउटा हाम्रो गठबन्धन र अर्को एमाले र असन्तुष्ट काँग्रेस समूहको गठबन्धन । एमालेले चलखेल गरेछ र मन्त्री छिराइहालेछ,’ उनले भने ।
काँग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन् । एमालेका उपनेता रामबहादुर मगर र काँग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेर शपथ लिएपछि बुधबार विश्वासको मत लिन लागेका छन् ।