काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन् ।
एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले बुधबार बिहान काँग्रेस सभापति र एमाले अध्यक्षसँग भएको भेटमा संक्रमणकालीन न्याय कानुनमा चाँडो टुङ्गिने बताए ।
‘काँग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौँ, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ यो विषय छिट्टै टुंगिन्छ, ’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए ।
‘हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक-पटक भन्दै आएका छौँ । विधेयकमा पनि त्यही छ, ‘उनले भने, ‘मैले जहिल्यै पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु । आज बिहानको मिटिङ पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ । अस्ती काँग्रेसको शुभकामना र आज भएको कार्यक्रमले पार्टीहरुबीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको छ ।’
सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरू छानबिनसम्बन्धी विधेयकले संसद्मा विचाराधीन रहेको छ । कतिपय पीडितहरूले पीडितकेन्द्रित नभएको भन्दै आलोचना गर्दै आएका छन् ।