काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले मुलुकमा अराजकता र अस्थिरताले हद नाघिसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले मुलुक अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरूको रणमैदान हुने त होइन ? भन्ने चिन्ता लागेको बताए । उनले सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनतामा आघात पुगिरहेको बताए ।
उनले राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको उल्लेख गर्दै पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दू राष्ट्र र एकताको प्रतीकको रूपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनः स्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमति गर्न प्रस्ताव गरे ।
‘मुलुक अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरूको रणमैदान हुने त होइन ? देशको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनतामा आघात पुग्ने त होइन, मलाई चिन्ता छ । अराजकता र अस्थिरताले हद नाघिसकेको छ’, उनले भने, ‘राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको छ । पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दु राष्ट्र र एकताको प्रतीकको रूपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनः स्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमतिमा गरौँ । यसले कसैको हार हुँदैन । सबैको जित हुन्छ ।’
उपनेता तामाङले सरकार आर्थिक गतिविधि चलायमान बनाउन लागि नपरेको आरोप लगाए । उनले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले राष्ट्रिय सहमति गर्ने प्रयास नगरेको बताए ।