काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी २३ कात्तिकका लागि बोलाएको साधारण सभा समयमा नै हुने भएको छ। एन्फाका असन्तुष्ट सदस्यहरूले अध्यक्षसँगै महासचिवको बर्खास्तको एजेन्डा पनि सँगै विशेष साधारण सभामा पेस गर्न माग गर्दै पाटन उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।
गत २५ असोजमा पाटन उच्च अदालतमा दर्ता गरिएको मुद्दामा भक्तपुरका सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, किरण राई र प्रवक्ता सुरेश साहलाई विपक्षी बनाउँदै महासचिव पनि बर्खास्तका लागि साधारण सभामा लैजानका लागि अन्तरिम आदेश माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए।
पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र राजेन्द्र खरेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो। यसअघि गत २६ असोजमा अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो।
तर, बिहीबार पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो। अब अन्तरिम आदेश जारी नभएसँगै समयमा नै एन्फा विशेष साधारण सभा हुने पक्का भएको छ भने महासचिवको बर्खास्तको एजेन्डा विशेष साधारण सभामा एन्फा अध्यक्ष पक्षधरलाई लैजान परेन।
अध्यक्ष पङ्कज विक्रम नेम्वाङले आफूलाई हटाउनु पर्ने मागको सुनुवाइ गर्दै विशेष साधारण सभा बोलाएका छन्। जहाँ उनको बर्खास्तको एकमात्र एजेन्डको निर्क्योल गर्ने एकमात्र कार्यसूची रहेको छ।