काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा) बिहीबारदेखि सुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) सङ्घले तीन दिने मोन्लम पूजा सुरु गरेको हो ।
संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि वार्षिक रूपमा यस्तो पूजा गर्ने गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितिमा खेन्छेम पेमा शेर्पा (रिपोन्छे) ले मोन्लम पूजा गराएका हुन् ।
उपाध्यक्ष लामाले लुम्बिनीमा आनीहरुको मोन्लम पूजाबाट यो वर्ष पूजाको सुरुवात भएको बताउँदै आगामी दिनमा यस्ता पूजाहरू बढ्दै जाने बताए । उनले आफू कोषको उपाध्यक्ष हुँदा नै लुम्बिनीमा लामा, गुरुहरूको उपस्थितिमा विभिन्न खालका पूजा गराउने प्रतिबद्धता जनाएको बताए । उनले अब बेलाबेलामा ठूलाठूला मोन्लुम पूजाहरू हुने बताए ।
भगवान् बुद्धका उपदेशका पाठहरू गर्दै बोद्धिसत्व गरेकाहरूको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्त्व रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरूलाई नीतिगत रूपमा प्रोत्साहन गर्ने नीति लिएको बताए ।
उनले यो वर्षका लागि पूजा सुरु भएको बताउँदै नोभेम्बर र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने बताए । लुम्बिनीमा धार्मिक पर्यटकहरूलाई आरक्षित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलने उनले बताए ।
नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) सङ्घले प्रत्येक वर्ष लुम्बिनीस्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ । बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ वर्षदेखि मोन्लम पूजा गर्दै आएको सङ्घका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताइन् । पूजा शनिवारसम्म चल्नेछ ।