काठमाडौँ । शुक्रबार मध्यराति गएको भूकम्पका कारण जनधनको ठूलो क्षति भएको छ । भूकम्पमा परी रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकामा ४३ जनाको मृत्यु भएको हो । भूकम्पबाट धनजनको ठूलाे क्षति भएको आठविसकाेटमा सन्नाटा छाएको छ ।
भूकम्पमान परी ७० जना घाइते भएको नगरप्रमुख रवि के.सी.ले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको छ ।
अहिले पनि उद्धारको क्रम जारी छ । घाइतेहरूलाई अस्पतालसम्म ल्याउने काम भइरहेकोले घाइतेको संख्या बढ्न सक्ने उनले बताए । नगरप्रमुख के.सी.का अनुसार पालिकाका सबैजसो घरहरू भूकम्पले ध्वस्त भएका छन् । करिब दुई हजार घरमा क्षति पुगेको उनले बताए । ‘सबै घर ध्वस्त छन् । पालिकामा ठूलो धनजनको क्षति भयो’, भक्कानिँदै के.सी.ले भने ।
उपप्रमुख धन कुमारी शाहीका अनुसार केही घाइतेलाई उपचार पछि घर पठाइएको छ भने केहीलाई उपचारका लागि ल्याउने क्रम जारी छ । भक्कानिँदै उनले भनिन्, ‘उद्धारमा जुटेका छौं । सबै नागरिकको घरसम्म पुग्न पाएका छैनौं ।’
भूकम्पबाट प्रभावितहरूका लागि अब आवास र खाद्यान्नको आवश्यकता रहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख के.सी.ले भने, ‘उद्धार हामीले गरी नै राखेका छौं । अब पुर्नबासको लागि आवास र खानाको लागि खाद्यान्नको सहयोग आवश्यक छ ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।