काठमाडौँ । जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको उद्धार कार्य जारी छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धारका लागि नेपाल प्रहरीको ८ सय ५९ जना परिचालित छन् ।
जाजरकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ४५० जना, रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ३२० जना, कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९ जना, चौरजहारी बेस क्याम्पबाट २० जना उद्धारमा खटिएका छन् । नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायव महानिरीक्षकको कमाण्डमा मेडिकल टोली ११ जना, सल्यानबाट प्रहरी सहायक निरीक्षको कमाण्डमा १० जना र इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतबाट प्रहरी सहायक निरीक्षको कमाण्डमा ९ जना गरी अहिलेसम्म ८ सय ५९ जना प्रहरी परिचालित भएको नेपाल प्रहरीले जनाएको छ ।
आवश्यकताअनुसार थप प्रहरी परिचालन हुने अवस्था आएमा स्ट्याण्डवाइ राखिएको प्रहरी नायव महानिरीक्षक एवम् केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए । उनका अनुसार केन्द्रमा, नेपालगन्ज र सुर्खेतमा प्रहरी टोली तैनाथ अवस्थामा रहेको छ ।
अहिले घाइतेको उद्धार भइरहेको छ भने भोलिबाट राहात वितरण र भत्किएका घरहरूको सरसफाइको काम सुरु हुने प्रहरी कार्यालयले जनाएको छ ।




तस्बिर : नेपाल प्रहरीको फेसबुकबाट