काठमाडौँ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो (२ करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन् ।
‘यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कुल १० करोड युरो खर्च गर्नेछ’, भोन डेर लेयेनले ब्रसेल्समा ईयुका कुटनीतिज्ञहरूसँग भनिन् ।
भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताइन्।
इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताएकी छन् ।
उनले युद्ध रोकिएपछि गाजा आतङ्कवादीहरूका लागि कुनै सुरक्षित आश्रयस्थल हुन नसक्ने र हमासले अब यस क्षेत्रको जिम्मेवारी नलिने बताएकी थिइन् ।