कास्की । पोखरामा नेपाल-चीन अन्तर्राष्ट्रिय पर्वतीय ‘क्रसकन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल नाराका साथ यही मङ्सिर ९ गते हुने प्रतियोगितामा सामूहिक विधामा नेपाल र चीनका १०/१० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा छ सय खेलाडी सहभागी हुने जनाइएको छ ।
पोखराको पर्यटन प्रवर्द्धन गर्दै खेलकुद सहरका रुपमा स्थापित गर्न गर्ने उद्देश्यले नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएशन र होटेल एशोसिएशन पोखराले छन् । प्रतियोगितामा सहभागी हुन चीनको यूनान प्रान्तबाट ७८ खेलाडी र अफिसियल गरेर एक सय चार जना चार्टड विमानमार्फत यही मङ्सिर ७ गते पोखरा आउने जनाइएको छ ।
यसैगरी प्रतियोगितालाई सघाउन चिनियाँ स्वास्थ्यकर्मी र प्राविधिक आउनेछन् । प्रतियोगिता संयोजक शिवशङ्कर पालिखेले सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार विधामा प्रतिस्पर्धा हुनेछ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् ।
दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुने संयोजकले पालिखेले बताए । सामूहिक विधातर्फको विजेताले रु. तीन लाख ६० हजार पुरस्कार पाउनेछन् ।
द्वितीयले रु. दुई लाख ८८ हजार, तृतीयले रु. दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले रु. एक लाख ४४ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला पुरुषले जनही रु. एक लाख ४४ हजार पुरस्कार पाउनेछन् । उपविजेताले रु. एक लाख आठ हजार, तृतीयले रु. ५४ हजार र चैेथो देखि सातौँसम्मको रु. १८ हजार र दसौँसम्मका धावकले रु. नौ हजार पुरस्कार पाउनेछन् । लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुङ्गो लाग्ने बताइन्छ ।
यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्रछात्रालाई जनही रु. २५ हजार पाउनेछन् । द्वितीयले रु. २० हजार, तृर्तीयाले रु.१५ हजार, सान्त्वनाले रु. १० हजार र पाँचौँले रु. पाँच हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक पालिखेले जानकारी दिए ।