काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिद-बिक्रीबारे चासो देखाएको छ । एनसेलको शेयर खरिद-बिक्रीको सूचना सार्वजनिक भएलगत्तै समितिले आइतबार आन्तरिक छलफल गरी सरोकारवाला निकायहरूलाई यसबारे जवाफ पठाउन पत्राचार गरेको हो ।
‘एनसेलमा लगानी गरेका विदेशी कम्पनीहरूको शेयर खरिद–बिक्रीको विवरण सार्वजनिक भएको छ, यो खरिद–बिक्री प्रक्रिया र विधिसम्मत हो कि होइन ? हाम्रो मुख्य चासो यही विषयमा हो’ सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘यसबाट राजस्व र करमा के कस्तो असर हुन्छ भनेर सोधेका छौँ ।’
समितिले हक हस्तान्तरणबारे अध्ययन विश्लेषण गरेर सत्यतथ्यपूर्ण विवरण पठाउनु भनी नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको हो । अरू सरोकारवाला निकायसँग पनि यसबारे चासो राख्दै बोधार्थ पत्र पठाइएको सभापति पोखरेलले बताए ।
लेखा समितिले पत्राचार गरेका निकायहरू दूरसञ्चार सेवा प्रदायकलाई कुनै न कुनै रूपमा नियमन गर्ने निकायहरू पर्छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले एनसेलको शेयर संरचनाको विवरण र त्यस सम्बन्धी अभिलेख राख्छ । नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार सेवा प्रदायकहरूको नियमनकारी निकाय हो । आन्तरिक राजस्व विभागले विवादास्पद अवस्थामा कर निर्धारण गरेका थिए ।