काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताका समस्या समाधान गर्न संविधान जारी भएपछि बनेका तीनवटै सरकार असफल भएको बताएका छन्।
पार्टी सचिवालयको ६९ औँ बैठकपछि बोल्दै नेता खनालले यसअघिका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार मात्र नभई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले जनताको समस्या सम्बोधन गर्न नसकेको बताएका हुन् ।
‘संविधानपछि बनेका तीनवटा सरकारले जनताका आवाजहरूलाई सुनेनन्। जनताका समस्याहरूलाई सम्बोधन गरेनन्। त्यसकारण राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक, राष्ट्रियताका विभिन्न क्षेत्रमा सङ्कटहरू मडारिइरहेका छन्। यो सङ्कट मडारिइरहेको बेला पुनरूत्थानवादीहरूले धमिलो पानीमा माछा मान सकिन्छ कि भनेर जालसाल थापिरहेका छन्। व्यवस्था बदलियो अवस्था बदलियो भन्ने जनताको गुनासो ठिक हो। अवस्था बदल्न यो तीनवटा सरकारले सकेन। ओली, देउवाको सरकारले पनि सकेन, प्रचण्डको सरकारले पनि सकेन।’
उनले त्यसकारण नयाँ ढङ्गले जानुपर्छ भनेर सचिवालय बैठकमा छलफल भएको बताए। एकीकृत समाजवादीको सचिवालय बैठक भोलि ११ बजे पनि बस्ने उनले बताए।