काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धी कागजात माग गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिँदै पुनलाई कार्यकारी निर्देशक नियुक्ति गरेका विषयमा विवरण माग गरेको हो ।
‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी प्रमाणित कागजातहरू (निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत) ३ (तीन) दिनभित्र यस समितिमा उपलब्ध गर्न/गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने, ’समितिको निर्देशनमा उल्लेख छ ।
समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तथा कोषाध्यक्षसँग छलफलपछि समितिले आनन्द होटेलसँग भएको सम्झौताका कागजात उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।
समितिले कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकिन र हालसाविक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
सम्बन्धित समाचार : पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन नियुक्त
