काठमाडौँ । मङ्गलवार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधवार महाराजगन्जस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर बम्जनलाई सार्वजनिक गरेको हो ।
उनी बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका थिए । बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेस गर्ने तयारी छ । अदालतले बम्जनविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि बाल यौन दुराचारको आरोप छ ।
घरबाट तीन करोड बढी नगद बरामद
प्रहरीले तपस्वी रामबहादुर बम्जनको घरबाट तीन करोड ३४ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बुढानीलकण्ठ नगरपालिका–६ बस्दै आएका बम्जनको घरबाट उक्त रकम बरामद भएको हो ।
तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ, विभिन्न १७ देशका ३० लाख ९२ हजार ४ सय ६ विदेशी मुद्रा गरी तीन करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । ठुलो रकम बरामद भएपछि यसबारे अनुसन्धान भइरहेको प्रहरीले आईबीले जनाएको छ ।
आईबीले मङ्गलवार उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी २ तला माथिबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए ।
पाँच करोडको गाडी किन्ने तयारी
तपस्वी रामबहादुर बम्जनले ५ करोड रुपैयाँ पर्ने ल्यान्ड क्रुजर एक्सएल गाडी खरिदको प्रक्रियामा अगाडी बढाएको पाइएको छ । प्रहरीका अनुसार उक्त गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ‘बुक’ भएको थियो ।
पाँच करोड मध्ये ३ करोड रुपैयाँ बुझाइसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलनमा बम्जनसहित उनले चढ्ने गाडी सार्वजनिक गरेको थियो ।

