काठमाडौँ । सरकारले एनसेलको शेयर खरिद विक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिको म्याद थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले समितिको म्याद माघ १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा रहेको समितिलाई छानबिनको लागि दिइएको समयावधि मङ्गलवार सकिएको थियो । गत मङ्सिर २१ मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेल खरिद–बिक्रीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । २४ मङ्सिरदेखि काम सुरु गरेको समितिले अहिलेसम्म छानबिन टुङ्गो लगाउन सकेको छैन ।
समिति संयोजक नै यति बेला विदेश भ्रमणमा छन् । आइतबार बेलायत उडेका संयोजक शर्मा शुक्रवार मात्रै स्वदेश फर्किँदै छन् । समितिले नेपाल राष्ट्र बैङ्क, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका निकायसँग कागजात माग गरेकोमा जवाफ नआएकाले छानबिनमा ढिलाइ भएको बुझिएको छ ।