१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क

अ+ अ-

ढोरपाटन (बागलुङ)। एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडा बाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् ।

खास गरी बागलुङको निसीखोला, ढोरपाटन र तारा खोलाका नागरिकको मुख्य पेसा पशुपालन थियो । युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका छन् । हरेक वर्ष भेडापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । भेडाबाख्रा पालेरै परिवार धान्नेहरूलाई बुढेसकालले छोयो । नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ ।

तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष बित्यो । ७३ वर्षको उमेरमा पनि उनले दुई सय ५० भन्दा बढी भेडाबाख्रा पाल्दै आएका छन्। बाउबाजेबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आएका छन्। १५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले पाँच/सात घर मात्रै यो पेसामा रहेको उनको भनाइ छ । अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउछन् । घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जङ्गल जानुको सट्टा बजार झर्ने गरेको उनको भनाइ छ ।

‘हामीहरू गोठमै जन्म्यौँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौंदेखि पाल्दै आएका बस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बेँसी गरिरहेका छौँ,’ सिर्पालीले भने, ‘हामीभन्दा पाका मान्छे बितिसके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दौँतरी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरू बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, पाँच/सात साल आउँदैनन्, आए पनि वन जङ्गलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि (मृत्युपछि) गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन् ।’


ढोरपाटन नगरपालिका-९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आएका छन्। बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन । डेढ सय भेडाबाख्रा पाल्दै आएकामा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन् । १० वर्ष पहिले करिब ३० घरका छिमेकी पशुपालनमा आबद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाए। छोरो नातिले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उनको भनाइ छ । दशकौँदेखि सयौँको सङ्ख्यामा पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको विकले बताए ।

उनले भने, ‘भेडाबाख्रा पाल्ने, वन जङ्गल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्, हाम्रो पालामा छ/सात दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उत्तिकै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरू आउँथे, डाँडा पाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरू रमाइलो छैनन्, घाँसपातको पीर पनि हुँदैन ।’

तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकामा निराश छन् । खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरिरहेका छन् । तर अब तिनीहरूको पर्खाइ पर्खाइमै सीमित हुने निश्चित जस्तो बनेको छ । किनकि नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ । त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको बताए । केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ ।

‘पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरूले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम गरिरहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरी योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय-समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यसतर्फ जोड दिएका छौँ ।’

बागलुङमा हाल एक लाख पचास हजार भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुरलगायत पशुचौपायाा रहेको प्रमुख डा सापकोटाले जानकारी दिए । अहिले जिल्लाको दश वटा पालिकामा विभिन्न रोगविरुद्ध खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँ गाउँमा पशु प्राविधिक खटाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस