काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको हिसाबले संवेदनशील क्षेत्र मात्र नभई नेपाल आगमनको पहिलो विन्दु पनि हो । राष्ट्रको पहिचान र वस्तुस्थिति झल्काउने विमानस्थललाई अन्तर्राष्ट्रिय सीमा नाका कै रूपमा हेरिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमालका अनुसार विमानस्थलबाट सरदर दैनिक अधिकतम २१ हजार र न्यूनतम १४ हजार यात्रु आवतजावत गर्ने गर्दछन् । अध्यागमनले विशेष गरेर विमानस्थल हुँदै नेपालबाट बाहिरिने र बाहिरबाट नेपाल भित्रने यात्रुको कागजात हेरेर अनुमति दिने गर्दछ । यसका लागि अध्यागमन चौबीसै घण्टा सञ्चालनमा हुन्छ । जसमा तीन वटा सिफ्टमा कर्मचारीहरू खटिन्छन् ।
अध्यागमन देशको अर्थतन्त्र, पर्यटनलाई प्रवर्द्धन, सुरक्षा संवेदनशीलतासँग पनि जोडिएको हुन्छ । अध्यागमनले अहिलेको आवश्यकता अनुसार सेवा प्रवाह गर्न जनशक्ति, अत्याधुनिक प्रविधि र समयसापेक्ष कानुनको अभाव देखिएको छ ।
अध्यागमनमा खटिएको एउटा अधिकृतले १५ देखि २० सेकेन्डभित्र यात्रुको सबै कागजात हेरेर प्रस्थान अनुमति वा आगमन अनुमति दिनुपर्ने हुन्छ । अध्यागमनमा धेरै देशको पासपोर्ट चिन्न सक्ने प्रणाली र उपकरण छैन । यसको अभावमा अध्यागमन अधिकृतले अनुभवको भरमा काम गर्नुपर्ने बाध्यता छ ।
अर्कोतर्फ सूचनाको स्रोत एकदमै कमजोर छ भने अत्याधुनिक सूचना प्रणाली पनि छैन । जसका कारण अध्यागमन अधिकृतले जोखिम मोलेरै निर्णय लिनु पर्ने अवस्था छ ।

विश्वका धेरै देशले एडभान्स प्यासेन्जर इन्र्फमेशन सिस्टम लागू गरिसकेका छन् । जसका कारण अध्यागमनमा आउनु भन्दा पहिले नै यात्रुको बारेमा जानकारी आइसकेको हुन्छ । कुन कुन यात्रु आउँदै छन् ? उनीहरूको सूचना अध्यागमनले पाइसकेको हुन्छ । आउँदै गरेका यात्रुको रेकर्ड थाहा भएपछि अध्यागमन अधिकृतलाई उनीहरूलाई अनुमति दिने नदिने निर्णय लिन सहज पनि हुन्छ । तर, यो प्रणाली नेपालमा छैन । जसका कारण अनुभवकै आधारमा काम गर्नुपर्ने बाध्यता अध्यागमन अधिकृतमा छ ।
अध्यागमनको सुरक्षा संवेदनशीलतालाई हेर्ने हो भने बायोमेट्रिक प्रणाली आवश्यक छ । व्यक्तिको रेटिना वा थम प्रिन्ट हेरेर गरिने बायोमेट्रिक प्रणाली अध्यागमनसँग छैन । कागजात र अनुहार आँखाले हेरेकै भरमा अनुमति दिने गरिन्छ । यसले सुरक्षा चुनौती सिर्जना गर्ने वा तस्करहरूले यी कमजोरीलाई प्रयोग गरेर दुरुपयोग गर्न सक्ने सम्भावना रहन्छ । यी समस्या हुँदाहुँदै पनि सेवा प्रवाहमा अध्यागमनले केही राम्रा प्रयास भने गरेको छ ।

अनलाइनबाटै अनअराइभल भिसा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी नागरिकले विमानस्थलबाटै ‘अन अराइभल भिसा’ लिन सक्ने व्यवस्था गरिएको छ । विश्वका १२ देश बाहेक अन्य देशका नागरिकले विमानस्थलबाटै अनअराइभल भिसा लिन सक्दछन् ।

विमानस्थलबाटै १५ दिन, ३० दिन र ९० दिनको भिसा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत हमालले बताए । विमानस्थलमै आएर मेसिनबाटको व्यवस्था गरिएको छ । उनी अध्यागमन कार्यालय प्रमुख भएर आएपछि ४ वटा मेसिन थपिएको छ ।
यात्रुले आफ्नो मोबाइलबाटै पनि अनलाइन भिसा एप्लाई गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि स्क्यान कोडहरू राखिएको छ । हमालका अनुसार अनलाइनबाटै भुक्तानी गर्न सक्ने गरी तयारी भइरहेको छ । अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाएपछि बैंकमा लाइन लाग्नु पर्ने बाध्यताको पनि अन्त्य हुने उनको भनाइ छ ।

कर्मचारीलाई तालिमको व्यवस्था
विमानस्थल नेपाल आगमनको पहिलो विन्दु हो । जहाँ राष्ट्रको पहिचान र वस्तुस्थिति झल्किन्छ । अध्यागमनको काम कूटनीतिक काम पनि हो ।
नेपाली मात्र नभएर विश्वभरका नागरिकलाई सेवा दिनुपर्छ । एक दिनमा २० हजार भन्दा बढी मानिसलाई सेवा दिनुपर्ने हुन्छ । यस कारण पनि अध्यागमनमा कार्यरत कर्मचारीहरू दक्ष, योग्य, सक्षम र अन्तर्राष्ट्रिय स्तरमा बोलिने विभिन्न भाषाको ज्ञान भएको हुनुपर्छ । अध्यागमनका कर्मचारीले यात्रुसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने जान्न जरुरी हुन्छ ।
यसैगरी भाषाको पनि ज्ञान हुनु पर्दछ । यसका लागि कर्मचारीहरूलाई तालिमको व्यवस्था गरिएको छ । अर्कोतर्फ विभिन्न देशका पासपोर्टहरू बेलाबेला परिवर्तन भएका हुन्छन् । कर्मचारीहरूलाई यसबारे अपडेट गराउन तालिम प्रदान गर्ने गरिएको छ ।
विमानस्थलमा कर्मचारीहरू दोहोरिएर आउने प्रचलन थियो । यो प्रचलनलाई रोक लगाउँदै नयाँलाई अवसर दिने काम भएको हमालले जानकारी दिए । कम्प्युटरहरू परिवर्तन गर्नका लागि पनि पहल भएको भएको छ ।

तीन सिफ्टमा काम
विमानस्थल अध्यागमन कार्यालयमा एक सय ८३ कर्मचारीको दरबन्दी छ । एक सय २६ अधिकृतको दरबन्दी छ । जसमा करिब ३५ जना अधिकृत कम छन् ।
गृह मन्त्रालयले आफ्ना अधिकृतलाई जिल्लामा पनि पठाउनुपर्ने भएकाले अध्यागमनमा सबै दरबन्दी पूर्ति हुने सम्भावना कम हुन्छ । चौबीसै घण्टा सेवा दिनुपर्ने भएकाले अध्यागमनका कर्मचारीहरूले तीन सिफ्टमा काम गर्ने गर्दछन् ।
विमानस्थलबाट प्रस्थान वा आवागमनका लागि अनुमति दिने/नदिने अधिकार अध्यागमन अधिकृतलाई हुन्छ । अध्यागमनका कर्मचारीलाई इन्सेन्टिभको व्यवस्था गरिएको छैन । इन्सेन्टिभको व्यवस्था गर्यो भने कर्मचारीमा उत्साह हुन्छ र यसले गलत क्रियाकलापमा पनि कमी आउने सम्भावना रहन्छ ।
राज्यले अध्यागमनलाई प्राथमिकतामा राखेर स्रोत साधनको व्यवस्था गरेमा सेवा प्रवाह थप सहज र प्रभावकारी हुन्छ ।
अत्याधुनिक प्रविधिको आवश्यकता
अध्यागमन कार्यालय अत्याधुनिक प्रविधिमैत्री बनाउनु पर्दछ । बायोमेट्रिक प्रणाली र ई-गेट प्रणाली लागू गर्नु पर्दछ । ई-गेट प्रणाली लागू भयो भने कर्मचारी बस्नु पर्दैन ।
पासपोर्टमा भएको बायोमेट्रिक प्रणाली अनुसार स्वतः यात्रु जान सक्छ । एडभान्स प्यासेन्जर इन्फरमेसन सिस्टम लागू गर्नु पर्दछ । यी विषयहरू भएमा सुरक्षाको तर्फबाट अध्यागमन राम्रो मान्न सकिन्छ । हमाल कार्यालय प्रमुख भएर आएपछि सुधारका लागि २९ बुँदे कार्य योजना बनाएका थिए । उनले बनाएको कार्य योजना तालुक विभाग, मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत पेस गरेका थिए ।
हमाले एकीकृत सर्भिलेन्स कक्ष, अनलाइन भिसा आवेदन तथा शुल्क भुक्तानीका लागि इन्टरनेश्नल पेमेन्ट गेटवे सञ्चालन, इन्टरपोलको रियल टाइम डाटाबेससँग नेपाली पोर्टलाई अन्तर आबद्धता गर्ने, ई-गेट प्रयोग गरी अटोमेटिक बोडर कन्ट्रोल सिस्टमको सुरुवात गर्ने, नेयर लाइन डाटा सेन्टर स्थापना गर्ने, एडभान्स प्यासेन्जर इन्फमेशन सिस्टम लागु गर्ने, यात्रुहरूको जैविक विवरणको प्रयोग गरी बायोमेट्रिक ट्राभलर आइडेन्टिफिकेशन सिस्टम सुचारु गर्ने, अध्यागमन सम्बद्ध ऐन, निर्देशिका, नियमावली, कार्यविधिहरूलाई अद्यावधिक गर्ने जस्तो योजना अघि सारेका छन् ।
सुरक्षा संवेदनशीलता
विमानस्थल अध्यागमनलाई सुरक्षा व्यवस्थापनको रूपमा अन्तर्राष्ट्रिय सीमाका रूपमा हेर्नुपर्ने हुन्छ । अर्कोतर्फ राष्ट्रिय सुरक्षाको हिसाबले पनि यो महत्त्वपूर्ण मानिन्छ ।
आपराधिक र गलत क्रियाकलाप गर्नेहरूले जहाँको अध्यागमन कमजोर र खुकुलो छ त्यहाँको प्रयोग गर्ने गर्दछन् । यस कारण पनि अध्यागमनको सुरक्षा र व्यवस्थापन अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । अध्यागमन जति सहज र सरल भयो त्यति विदेशी पर्यटक आउने र देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने हुन्छ । यस कारण पनि आर्थिक हिसाबले अध्यागमन अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।

विमानस्थलको सुरक्षा कमजोरी अन्तर्राष्ट्रिय रूपमा नै उदाङ्गो छ । ९ पुस २०५६ मा इण्डियन एयरलाइन्सको आईसी–८१४ जहाज अपहरण, त्यसपछिका विभिन्न समयमा भएका तस्करीहरूले यसलाई पुष्टि गर्छ । अहिले पनि विमानस्थल सुरक्षा प्रणालीमा खासै परिवर्तन हुन सकेको छैन । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षा व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।
एयरलाइन्स नचिन्ने ऐन
समयानुकूल कानुन परिमार्जन नहुँदा पनि विमानस्थल अध्यागमनमा समस्या देखिन्छ । २०५१ सालमा बनेको ऐन नै संशोधन गर्नुपर्ने अवस्था छ । ऐनले अहिलेका एयरलाइन्सलाई नै चिन्दैन ।
अध्यागमनसँग सिधै सम्पर्क हुने भनेको एयरलाइन्स हो । अध्यागमनले अनुमति दिने यात्रु भनेको एयरलाइन्सबाट आएकालाई हुन्छन् । एयरलाइन्सले गलत मान्छे बोकेर ल्यायो भने एयरलाइन्सलाई कारबाही गर्न अहिलेको ऐनले चिन्दैन । यस कारण पनि ऐन संशोधन गर्नुपर्ने देखिएको छ ।
ऐन मात्र होइन निर्देशिका, कार्यविधि पनि संशोधन गर्नुपर्ने छ । भिजिट भिसाको झन्झटिलो प्रक्रियाले बिचौलियाको सेटिङ बढेको छ । भिजिट भिसामा विदेश जानेका लागि जारी गरिएको १७ बुँदे मापदण्डलाई खारेज गरी नयाँ ल्याउनु आवश्यकता छ । १७ बुँदेले सोझा नेपाली मानव बेचबिखनमा नपरुन्, काम गर्न नसक्नेहरूलाई झुक्याएर भिजिट भिसामा बाहिर नलगियोस् भन्ने थियो । तर, मन्त्रालयले बनाएको १७ बुँदेको गलत प्रयोग भएको छ । यसैका आधारमा कमाऊ धन्दा शुरु भएको छ । जसबारे अहिले अनुसन्धानसमेत भई रहेको छ ।