धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाएका छन् । प्रतिष्ठानमा बढ्दै गएको समस्या सम्बोधन गर्न नसकेको जनाउँदै साम्पाङले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रहलाद कार्कीको कार्यकक्षमा ताला लगाएका हुन् ।
उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्ने आँट नगर्न मेयर साम्पाङले चेतावनी दिएका छन् । उपकुलपति कार्कीले प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्नुको सट्टा रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलालाई दिएको अख्तियार फिर्ता लिएका थिए । अख्तियारी फिर्ता लिएको पत्र सार्वजनिक भएसँगै मेयर साम्पाङ ताला लगाउन पुगेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बि.पि.अस्पतालको भिसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !’ प्रतिष्ठानमा कार्यरत शिक्षक र कर्मचारीले तहगत बढुवाको माग गर्दै गरेको आन्दोलनका कारण सेवा प्रभावित भएको छ ।
सम्बन्धि समाचार : वी.पी प्रतिष्ठानका रजिस्ट्रारको अधिकार खोसियो, शिक्षक र कर्मचारीको आन्दोलनले सेवा प्रभावित