काठमाडौं । संघीय संसद सचिवालयले सम्भावित संसदीय क्यालेन्डर तयार पारेको छ । यही माघ २२ गतेदेखि लागू गर्ने तयारीका साथ बनाइएको सम्भावित संसदीय क्यालेन्डरमा आगामी फागुन १५ गतेसम्मको सम्भावित तालिकाहरू तय गरिएको छ ।
पहिलो दिन संसदको कार्यवाहक महासचिव तोकिएको जानकारी गराउनेसहितका विषय समावेश छन् । पहिलो दिन अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त पत्रहरूको जानकारी, संघीय संसदको कार्यवाहक महासचिव तोकिएको जानकारी, शीर्ष नेताहरू बोल्ने भएका दलगत मन्तव्यका लागि समय छुट्याउने उल्लेख छ ।
साथै, सरकारले जारी गरेका अध्यादेश पेश गर्ने, राष्ट्रिय सभाबाट पारित भई आएका विधेयकको सन्देश टेबेल गर्ने र सभामा सभामुखलाई पालो दिनका लागि अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने विषय पहिलो दिन गर्ने भनिएको छ । अघिल्लो अधिवेशन यता कुनै पूर्वसांसदको मृत्यु भएको भए शोक प्रस्ताव पेश गर्ने विषय पनि पहिलो दिनको क्यालेन्डरमा राखिएको छ ।
दोस्रो दिन शून्य समय चलाउने र प्रतिनिधि सभामा उत्पत्ति भएको बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयकमाथि सामान्य छलफल चलाउने, तेस्रो दिन शून्य समय र विशेष समय चलाउने, राष्ट्रिय सभाबाट पारित भएर आएको विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथि सामान्य छलफल चलाउने भनिएको छ ।
चौथो दिन शून्य समय चलाउने, प्रतिनिधि सभामा उत्पत्ति भएको निर्माणमुखी सामाग्री विधेयक पेश गर्ने, सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने दिनको जानकारी गराउने उल्लेख छ ।
फागुन १ गते पाचौं बैठक चलाउने र त्यस दिन शून्य र विषय समयमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीलाई दिन लगाउने, बैंकिङ कसुर सम्बन्धी विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने सम्भावित तालिका छ ।
फागुन ३ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने सम्भावित तालिका छ । प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्न सोध्नको लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।