काठमाडौँ । राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा(युएसडिटी क्वाइन)को कारोबार गर्ने दुई जना विरुद्ध अभियोग दायर गरेको छ । विभागले झापाका शुभम कुमार यादव र रोहन चौधरी विरुद्ध बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको हो ।
विभागमा प्राप्त विशेष सूचनाका आधारमा उनीहरूमाथि पाँच महिनासम्म अनुसन्धान गरी अदालतमा अभियोग दायर गरिएको हो । विभागका उपसचिव एवम् अनुसन्धान अधिकृत नवराज अधिकारीले अनुसन्धान सम्पन्न गरी अदालतमा अभियोग दायर गरेका हुन् । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ अनुसार बिगो बमोजिमको जरिवाना ४१ करोड ९४ लाख रुपैयाँ सजाय मागदावि गर्दै दुवै जनालाई अभियोग दायर गरेको विभागका सूचना अधिकारीसमेत रहेका अधिकारीले प्रशासनलाई जानकारी दिए ।
शुभमले बाइनान्स एपको प्रयोग गरी पर्सन टु पर्सन(पिटूपी) च्यानलको प्रयोग गरी युएसडिटी क्वाइनको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । उनले कारोबारको रकम राख्ने तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहन चौधरीको बैङ्क खाता प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
अभौतिक मुद्राको कारोबार मार्फत विदेशी विनिमयको अपचलन हुने गर्दछ । अभौतिक मुद्राको कारोबारको अनुसन्धान तथा तहकिकात गर्नु आफैमा चुनौतीपूर्ण रहेको छ ।
अभियुक्तहरूलाई पक्राउ गर्ने बेला केही क्षण मात्र ढिलो भए अभियुक्तहरूले आफूसँग भएको डिजिटल डिभाइसबाट तथ्याकं मेटाउन सक्ने सम्भावना हुने भएकोले अभौतिक मुद्राको कारोबारलाई राजस्व अनुसन्धान विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।
पछिल्ला दिनहरूमा राजस्व चुहावट नियन्त्रणमा क्रियाशील राजस्व अनुसन्धान विभागले अभौतिक मुद्राको कारोबारको प्राथमिकताका साथ अनुगमन नियमन र अनुसन्धान गरिरहेको छ । यसका लागि विभागले सरकारी निकायहरू लगायत विभिन्न पक्षसँग रहेका सूचनाहरूलाई एकीकृत गर्ने, विश्लेषण गर्ने र कारबाहीमा जाने रणनीति अख्तियार गरेको विभागले जनाएको छ ।