सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले कर्मचारीको सरुवा ,बढुवामा ‘भेटी’ आतंक मच्चाएको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित भव्य प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
एमाले सरकारमा रहँदा हटाएको यस्तो गलत क्रियाकलाप अहिलेको सरकारले बढाएको अध्यक्ष ओलीको आरोप छ ।
सरुवा, बढुवामा मात्रै होइन नयाँ नियुक्ति पनि भेटी, दक्षिणाबिना काम नै नहुने गरेको उनको भनाइ छ । भेटी दक्षिणा पनि थोरै होइन भ्रष्टाचार गरेर कमाउने भन्दा पनि बढी लिने गरेको अध्यक्ष ओलीको आरोप थियो ।
मन्त्रालयमा जाँदा अनुहार हेरेर व्यवहार गर्ने गरेको अध्यक्ष ओलीको भनाई छ ।
अहिले मन्त्रालयमा जाँदा क्षमता हेरेर होइन रंग हेरेर गठबन्धनको हो की होइन त्यो हेरेर मात्रै काम गर्ने संस्कृतिको विकास वर्तमान सरकारले सुरुवात गरेको ओलीको भनाइ थियो । एमालेको सरकार रहँदा धेरै काम भयो, त्यो काम किन भयो भने एमालेले अनुहार हेरेर होइन योग्यता र क्षमता हेरेर मात्रै काम गर्ने गरेको जिकिर गरेका छन् ।