काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र सञ्चालनमा रहेको पेट्रोल पम्पहरूको पहिचान तथा एकरूपताको लागि पहेँलो रङ्ग लगाइने भएको छ ।
बिहीबार महानगर क्षेत्रभित्र सञ्चालनमा रहेको पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनको लागि काठमाडौँ महानगरपालिकाको समन्वयमा सरोकारवाला संघसंस्था तथा निकायहरूको प्रतिनिधिहरुबीच बसेका बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा पेट्रोल पम्पहरूमा एकै प्रकारको रङ्ग लगाउने, पम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध गराउने र पिपिई लगाउने विषयमा सरोकारवाला निकायसँग छलफल भएको थियो ।
बैठकले पेट्रोल पम्पहरूको पहिचान तथा एकरूपताको लागी पहेँलो रङ्ग लगाउने निर्णय गरेको हो । साथै अब पेट्रोल पम्पहरूले सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ भने जानकारी मूलक बोर्ड झुण्डाउने निर्णय गरेको छ ।
साथै पम्पमा कार्यरत नोजलमेनले पिपिई खैरो रङ्ग को व्यक्तिगत सुरक्षा सामाग्री लगाउने, पम्प परिसरमा हरियाली गर्ने बनाउने भएको छ ।
यस्तै पम्पमा कार्यरत कर्मचारीहरूलाई महानगरले आधारभूत अग्नि नियन्त्रण तालिम दिने र चारवटा पम्पमा पहेँलो रङ्ग र पिपिई नमुनाको रूपमा पे प. डी. एसोसिएसनले व्यवस्था गर्ने भएको छ ।
