काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेक अरू काम गर्न नसक्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने बताए।
उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे।
गठबन्धनका शीर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको उनको भनाइ थियो। नेता रिजालले निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता रहेको बताए।