काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने विभिन्न कर्मचारी सङ्गठनहरूले चेतावनी दिएका छन् । मुख्यमन्त्री कार्कीले राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चार वटा सङ्गठनले क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियन कोशी, निजामती कर्मचारी सङ्गठन कोशी, राष्ट्रिय कर्मचारी सङ्गठन कोशी र एकीकृत सरकारी कर्मचारी सङ्गठन कोशीले संयुक्त विज्ञप्ति निकालेर मुख्यमन्त्रीले कर्मचारीका विषयमा दिएको अभिव्यक्तिको खण्डन नभए आन्दोलन गर्न बाध्य हुने बताएका हुन् ।
गत सोमबार मोरङको सुन्दरहरैचास्थित साँजीलाल माध्यमिक विद्यालयको वार्षिक उत्सवका क्रममा मुख्यमन्त्री कार्कीले विद्यार्थी कालको स्मरण गर्दै फस्ट बेञ्चर खरिदार भएर भुँडी मात्र भर्न ठिक्क भएको र आफू लास्ट बेञ्चर भएर पनि मुख्यमन्त्री बन्न सफल भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको कर्मचारी क्षेत्रमा चर्को आलोचना भएको छ ।

यसै गरी निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन मोरङले पनि मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । उनको अभिव्यक्तिले राष्ट्रसेवकहरूको मानमर्दन भएको र राजनैतिक नेतृत्वमा रहेको चेतप्रति आम कर्मचारीहरूमा निराशाजनक सन्देश प्रवाह भएको सङ्गठनहरुले जनाएका छन् ।


यसअघि पेसागत महासङ्घ नेपाल प्रदेश समिति कोशीले मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिले राष्ट्रसेवकहरूको शिर निहुरिएको बताएको थियो ।
सम्बन्धित समाचार : मुख्यमन्त्रीको अभिव्यक्तिले राष्ट्रसेवकहरूको शिर निहुरियो : पेसागत महासंघ