धनगढी । नेकपा (एमाले) कैलालीको अधिवेशन आगामी फागुन ६ र ७ गते हुँदै छ । ९ औँ जिल्ला अधिवेशनका लागि बिहीबार (आज) पदाधिकारीमा आकाङ्क्षा राख्नेलाई इच्छा पत्र पेस गर्ने समय दिइएको छ ।
आज दिउसो चार बजेसम्मका लागि इच्छा पत्र पेस गर्ने समय दिइएको छ । सहमतिमै नेतृत्व चयन गर्न प्रयास भइरहेको एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले बताए । उनले भने, ‘आज आकाङ्क्षीलाई इच्छा पत्र पेस गर्न समय दिइएको छ । इच्छा पत्र पेस भएपछि भोलि र पर्सि छलफल गरेर आकाङ्क्षीहरूका बिचमा सहमतिको प्रयास गर्छौँ ।’
अधिवेशन नजिकिएसँगै जिल्लाको नेतृत्वका लागि नेताहरूको दौडधुप सुरु भैसकेको छ । जिल्लाको नेतृत्व लिन खास गरी तीन नेताको दौडधुप तीव्र बनेको छ ।
अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना दौडको अग्रपङ्क्तिमा देखिएका छन् । उनलाई पार्टीको संस्थापन लाइनका नेताहरूको समर्थन रहेको बुझिएको छ ।
त्यसैगरी वर्तमान कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशी पनि नेतृत्व लिनका लागि दौडधुपमै छन् । उनले सहमतीय नेतृत्व लिनलाई इच्छा देखाएका छन् ।
जिल्ला अध्यक्षका लागि अर्का आकाङ्क्षी हुन् वर्तमान सचिव डेजी पाण्डे । अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका पाण्डेले आफू अध्यक्ष हुनुपर्ने भन्दै सक्रियता बढाएका छन् । जिल्लामा रहेका नेताहरूले पाण्डेलाई अध्यक्ष बनाउन चासो देखाएका छन् ।
पार्टी संस्थापनको तर्फबाट ढुङ्गाना र अर्कातर्फ एमालेका १० बुँदे समूहको नेतृत्व अन्तिममा पाण्डेले गर्ने देखिएको छ ।
माघ २७ मा प्रतिनिधि छनौटको काम सकिएको छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।