काठमाडौँ । फिल्मकर्मीहरूले १७५ रुपैयाँ मै एक लाखसम्मकोबीमा गर्न पाउने भएका छन् । सुर्यज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र चलचित्र संरक्षण मञ्चबिच उक्त आवधिक बिमा योजनाका विषयमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम रखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा मञ्चका उप-महासचिव तेज गिरीसहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिनसिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
सहमतिसँगै चलचित्र संरक्षण मञ्चले आफ्ना सदस्य फिल्मकर्मीको बिमा प्रक्रिया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिएका छन् । उनले अन्य फिल्मकर्मीलाई पनि यो योजनाको लाभ लिन आग्रह गरेका छन् ।
फिल्मकर्मीहरूको कामका दौरान अथवा अन्य भवितव्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बिमा प्रक्रिया अघि बढाइएको महासचिव तेज गिरीले बताए ।
चलचित्र संरक्षण मञ्चले सहजिकरण गरी न्यूनतम एक लाखदेखि अधिकतम २० लाखसम्मको आवधिक बिमा गर्ने योजना ल्याएको हो ।
यस योजनामा वार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको बिमा हुने व्यवस्था छ भने उमेर र विमांक रकमअनुसार शुल्क फरक पर्न जाने उप–महासचिव गिरीले जानकारी दिए ।
फिल्मकर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सयभन्दा बढी सक्रिय सदस्यहरू रहेका छन् । मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आबद्ध सदस्यहरूलाई अत्यन्तै ठुलो लाभ मिल्ने विश्वास लिएका छन् ।
इन्स्योरेन्स कम्पनीका वरिष्ठ प्रमुखकार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्चमार्फत फिल्मकर्मीहरू सँग जोडिन पाउँदा खुशी लागेको र फिल्मकर्मीहरूको हितमा संस्थाले साथ र सहयोग गर्ने कुरा बताए ।