काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन् ।
गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेस गरेको प्रतिवेदनमा आफूले अर्थ मन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको जिकिर गरेका छन् ।
डा. महतले गत वर्ष २०७९ चैत १७ गते अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए ।
‘नेपाली काँग्रेसको तर्फबाट वर्तमान गठबन्धन सरकारमा प्रतिनिधित्व गरी हामी सरकारमा समावेश हुँदा र मैले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । मैले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरू कार्यान्वयनका क्रममा छन् ।’
डा. महतले पर्यटक आगमन, होटेल र रेस्टुरेन्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार बढेको संकेत देखिएको बताए । यस्तै विप्रेषण उल्लेखनीय रूपमा बढेको, विद्युत् उत्पादन र निर्यात बढेको, घरजग्गा क्षेत्र केही चलायमान हुने संकेत देखिएको, सार्वजनिक खर्च बढ्दोक्रमा रहेको उनले उल्लेख गरेका छन् ।
आगामी दिनमा पुँजीगत खर्च बढ्ने प्रतिनिधिलाई आश्वासन बाँडेका छन् ।
महतको प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न हामी प्रयत्नशील रहेका छौँ । हाल बैङ्क तथा वित्तीय प्रणालीमा तरलता सहज रही लगानीयोग्य पुँजी पर्याप्त रहेकोले लगानीको लागत कम भई उत्पादन वृद्धि हुने अपेक्षा रहेको छ । साथै, जल विद्युत्, पर्यटन, कृषिमा व्यवसायीकरण र सूचना प्रविधि उद्योगलाई सम्भावनाका क्षेत्रको रूपमा पहिचान गरी लगानी वृद्धि गर्ने नीति लिइएकोले दूर दराज र पिछडिएको क्षेत्रमा समेत पूर्वाधार, उत्पादन र रोजगारीका अवसर सिर्जना हुने छन् ।’