काठमाडौँ । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा नैतिक आचरणमा विचलनबारेको एजेण्डाको प्रवेश भएको छ ।
नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा आर्थिक र नैतिक आचरणमा विचलन आएका नेता कार्यकर्तामाथि कस्तो वाही गर्ने भन्ने बहस चलिरहेका बेला काँग्रेसमा पनि यो एजेण्डाले प्रवेश पाएको हो ।
काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिमा पेस गरेको २६ बुँदे पूरक प्रस्तावमा भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित वा छानबिनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था गर्न प्रस्ताव राखेका हुन् ।
नेता पौडेलले गैरकानूनी क्रियाकलापमा संलग्न र फौजदारी अभियोग प्रमाणित कुनै पनि सदस्यलाई काँग्रेसले चिन्दै नचिन्ने व्यवस्था विधानमै हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म भएका वा कुनै पनि लाभको पदमा रहेका सदस्यको सार्वजनिक लेखा परीक्षण अनिवार्य गर्न समेत प्रस्ताव राखेका छन् ।
पौडेलले काँग्रेसलाई डिजिटल पार्टी बनाउनेदेखि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गर्ने प्रस्ताव समेत राखेका छन् । उनले उम्मेदवार छनौट सम्बन्धित तहकै कमिटीमा प्रत्यक्ष मतदानका आधारमा गर्ने प्रस्ताव राखेका हुन् ।
उनले एक महिनाभित्र पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले सम्पत्ति विवरण र त्यसको स्रोतको स्वघोषणा गर्ने प्रस्ताव समेत राखेका छन् । स्वघोषणा नगर्ने व्यक्ति स्वतः निलम्बित हुने उनको प्रस्ताव छ ।