काठमाडौँ । दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमद्वारा जारी गरिएको बोलपत्रमा जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै विदेशी कम्पनी ‘अयोग्य’ ठहरिएका छन् ।
प्राविधिक मूल्यांकनमा जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै कम्पनी ‘अयोग्य’ ठहरिएका हुन् । निगमले कात्तिकमा बोलपत्र आह्वान गरेको थियो ।
निगमको कर्पोरेट विभागका एक अधिकारीका अनुसार तीनवटा साना जहाज खरिदका लागि सार्वजनिक गरेको बोलपत्रमा लेट विमान उत्पादन गर्ने एयरक्राफ्ट इन्डस्ट्रिज चेक रिपब्लिक, डोर्नियर उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड र क्यानेडियन जहाज ट्वीनअटर निर्माता कम्पनी डी ह्याभिल्यान्ड एयरक्राफ्ट कम्पनीले निगमलाई जहाज बिक्री गर्न प्रस्ताव पेस गरेका हुन् । तर, तीनवटैले बुझाएका प्राविधिक र आर्थिक प्रस्तावमध्ये पहिलो चरणमा प्राविधिक प्रस्ताव मूल्यांकन गर्दा थुप्रै कैफियत भेटिएका छन् ।
निगमले कात्तिक ५ गते जारी गरेको बोलपत्रमा प्राविधिक प्रस्तावको अंकभार २५ प्रतिशत र आर्थिक प्रस्तावको अंकभार ७५ प्रतिशत राखिएको थियो ।