काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्तका लागि राष्ट्रपति रामचन्द्र पौडेलका भतिजले दिएको निवेदनमा लगाएको तोकादेश स्वाभाविक भएको बताएका छन् । योग्यता भएका व्यक्तिले जान पाउँ भनेर निवेदन हाल्नु स्वाभाविकै भएको बताउँदै उनले निवेदन आइसकेपछि तोकादेश गर्नै पर्ने बताएका हुन् ।
”समाज कल्याण परिषद्को उपाध्यक्षले राजीनामा दिएपछि रिक्त रहेको पदमा योग्यता भएका मान्छे जान पाउँ भनेर निवेदन हाल्नु स्वाभाविकै हो मन्त्री आचार्यले प्रशासनसँग भने, कति मौखिक पनि भन्न आए, कतिले निवेदन नै हाले । मैले प्रक्रिया अगाडी बढाउनु भनेर तोकादेश पनि गरेको हो । निवेदन आई सकेपछि तोकादेश गर्नै पर्छ ।”
उनले प्रक्रियागतरुपमा योग्यता, क्षमता भएको मान्छे त्यहाँ जाने र सो पद मन्त्रीस्तरबाट निर्णय गरेर टुुंगिने विषय नभै मन्त्रिपरिषदबाट नियुक्त हुने भएकोले जति जनाको निवेदन आउँछ ती सबै आफूले मन्त्रिपरिषदमा पठाइदिने बताए ।
चितवन रत्न नगरका अनिलराज पौडेलले उपाध्यक्ष पदमा ‘नियुक्ति दिलाई पाउँ’ भन्दै दिएको निवेदनमा मन्त्री आचार्यले मन्त्रालयका सचिव सुमनराज अर्याललाई ‘श्री सचिवज्यू प्रक्रिया अघि बढाउन’ भनी तोक लगाएका थिए ।
सेवा सुविधा सचिवसरह हुने समाज कल्याण परिषद्को उपाध्यक्षको सेवा अवधि ४ वर्षको हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सूचीकरण तथा अनुगमन गर्ने निकायका रूपमा रहेको परिषद् आकर्षक अड्डाका रूपमा लिइन्छ ।
