काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सुन लगायत भन्सार निरीक्षण र नियन्त्रण आफ्नो कार्य क्षेत्र नपर्ने दोहोर्याएको छ । विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले सोमबार विज्ञप्ति निकालेर विमानस्थल कार्यालयको जिम्मेवारीमा पूर्वाधार सुधारमात्र पर्ने बताएका छन् ।
‘हामीले यस अघिको प्रेस विज्ञप्तिमा पनि भन्दै आइरहेका छौँ कि सुन लगायत भन्सार निरीक्षण र नियन्त्रण विमानस्थल नागरिक उड्डयन कार्यालयको कार्य क्षेत्र होइन’, विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालयले हेर्ने भनेको विमानस्थलको पूर्वाधार सुधारमा हो ।’ नेपाल प्रहरीबाट हुने प्रवेश नियन्त्रण तथा खानतलासीमा समेत समन्वयमा रही सुरक्षा सुदृढ पार्ने काममा कटिबद्ध भएको कार्यालयले जनाएको छ । विशेष अवस्थामा बाहेक विमानहरूको एयर होल्डिङ घटेको अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
