काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनावमा सहभागी भएको पहिलोपटकै जनमत राष्ट्रिय पार्टी बन्न सफल भएको र अब सिट तथा मतको सङ्ख्यालाई बढाउनुपर्ने बताएका छन् ।
रुपन्देहीको भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समिति कार्यालय सोमबार उद्घाटन गर्दै अध्यक्ष राउतले पहिलो पटकमै जनमत राष्ट्रिय पार्टी बन्नु जनताको माया र स्नेहको परिणाम भएको बताए ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता राउतले लुम्बिनी प्रदेशमा १ जना सांसद जता गयो, उतै सरकार बन्ने अवस्था रहेको भन्दै एउटा मात्र सिटको धेरै महत्त्व रहेको धारणा राखेका छन्।
उनले भने, ‘एक जना माननीयज्यू जता लाग्नुहुन्छ, त्यही पक्षको नेतृत्वमा सरकार बन्ने अवस्था छ । हामीले पनि ३ वटा सिटभन्दा ४ वटा जितेको भए कति फरक पर्थ्यो । पार्टीले क्लष्टर, सिट सङ्ख्या र मत बढाउनुपर्छ । अनि मात्र केही उपलब्धि संस्थागत गर्न सक्छौँ ।’
कुन पार्टीले कति सिट ल्यायो भन्ने लोकतान्त्रिक व्यवस्था र अंकगणितको खेलमा धेरै महत्त्व राख्ने उनले बताए । कसको कति सिट छ भन्ने कुराले धेरै कुरा निर्धारण गर्ने उनको भनाइ छ ।
उनले ४० वर्षअघिका समस्या अहिले पनि यथावत् रहेको बताउँदै मुलुकमा देखिएका समस्या समाधानका लागि सामाजिक लोकतन्त्र ल्याउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय पुँजी निर्माण गरेर मात्र विकास गर्न र रोजगारी सिर्जना गर्न सकिने नेता राउतको भनाइ छ ।